मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी नाका अवलोकन

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा सिन्धुपाल्चोकको तातोपानी नाकाको अवलोकन गर्न लिपिङ पुगेका छन् । भूकम्प र बाढी पहिरोले थिलथिलो बनाएको नाकाको अवलोकन गर्न अर्थमन्त्री शर्मासहित सापकोटा आज (सोमबार) तातोपानी नाका पुगेका हुन् । 

उनीहरूले तातोपानी भन्सार  र मितेरी पुलसम्मको अवलोकन गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका छन् । तातोपानी नाकाबाट दैनिक न्यूनरूपमा सामान आयात हुँदै आएको छ । आजै उनीहरू तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुने कार्यक्रम छ । 

भूकम्प र बाढीपहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डमा सहज आवागमन हुन सकिरहेको छैन । यही कारण देखाउँदै चिनियाँ पक्षले न्यून रूपमा दैनिक आठ वटा कन्टेनर सामान मात्रै आयात गर्न दिएको छ । नेपाली पक्षबाट सरकारीस्तरमा कूटनीतिक पहल हुन नसक्दा तातोपानी नाका पूर्णरूपमा सन्चालन हुन नसकेकाे व्यापारीहरूकाे आराेप छ ।