मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

न्युजिल्यान्ड सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौँ - न्युजिल्यान्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार अफगानिस्‍तानलाई आठ विकेटले हराउँदै न्युजिल्याण्‍ड सेमिफाइनलमा स्‍थान बनाउन सफल भएको हो । आबुधावीमा भएको खेलमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्‍य न्युजिल्‍याण्‍डले १८.१ ओभरमा दुई विकेट गुमाएर पुरा गर्‍यो । न्युजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४१ रन  र  डेभोन कोनवेले ३५ रन बनाए। 

यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन बनाएको थियो । अफगानिस्तानका लागि नजिबुल्लाह जरदानले सर्वाधिक ७३ रन बनाए। 

न्युजिल्यान्डको जितसँगै भारतको सेमिफाइनल पुग्ने सपना चक्नाचुर भएको छ। भारत समूह चरणबाटै बाहिरिएको छ । पाकिस्तान, इंग्ल्यान्ड र अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । योसँगै सेमिफाइनल समिकरण पूरा भएको छ ।