सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

विदेशी विनिमय सञ्‍चिति अहिलेसम्मकै उच्च, १५ महिना आयात धान्‍ने

काठमाडौं : विदेशी विनिमय सञ्चिति कात्तिककै हिसाबलाई पछ्याउँदै जाने हो भने मंसिरमा अर्को किर्तिमानी चुम्‍नेछ । नेपाल राष्ट्र बैंकको चार महिनाको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति' प्रतिवेदनअनुसार कात्तिक मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५ खर्ब ६ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएपछि विदेशी विनिमय सञ्चिति ऐतिहासिकरुपमै बढेको हो । वाणिज्य बैंकसँग भएको विदेशी मुद्रा र राष्ट्र बैंकले विदेशी मुद्रा र सुनमा गरेको लगानीलाई विनिमय सञ्चिति मानिन्छ ।

गत असारमसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब रुपैयाँ थियो । कात्तिकसम्ममा ७.४ प्रतिशतले बढेको हो ।

विदेशी मुद्रा बाहिरेने प्रमुख माध्यम आयातमा गिरावट आइरहेको छ । जसले विदेशी विनिमय सञ्चिति बढाउन टेवा पुर्‍याइरहेको छ । आयातमुखी अर्थतन्त्र भएको मुलुकमा आयातमा आउने गिरावटले विदेशी विनिमय सञ्चिति बढ्नु स्वाभाविक मानिएको छ ।

चार महिनामा आयात १०.८ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकका अनुसार यस अवधिमा चार खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि विभिन्न मुलुकले अन्तर्राष्ट्रिय सीमा कडाई गरिरहेकै कारणले पनि वस्तु आयातमा कमी आइरहेको छ । चीन सरकारले आफ्नो उत्पादन निर्यातमा कडाइ गरिरहेका कारण चीनबाट सामान कम आइरहेका छन् । चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ ।

भारतबाट आउने सामानमा पनि कमी आइरहेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट हुने आयातमा ३.१ प्रतिशतले घटेको छ ।
अन्य मुलुकबाट हुने आयातमा १९.८ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

यस अवधिमा कुल वस्तु निर्यात १०.८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार ४० अर्ब २० करोड निर्यात पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ १४.९ प्रतिशतले निर्यात बढेको छ । चीनतर्फ ५९.२ प्रतिशतले घटेको छ । अन्य मुलुकतर्फ ६.५ प्रतिशतले निर्यात वृदि्ध भएको तथ्यांकले देखाएको छ ।

वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

चार महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । यस्तो घाटा ३ खर्ब ६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो ।

चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स गत वर्षभन्दा बढेको छ ।

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ११.२ प्रतिशतले बढो छ । चार महिनामा ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।

शोधानान्तर स्थिति १ खर्ब १० अर्ब रुपैयाँ बचतमा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो २७ अर्ब २९ करोड रुपैयाँ थियो ।

यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी भने २३.९ प्रतिशतले कमी आएको छ । चार महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ यस्तो लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ९२ करोड रुपैयाँ थियो ।