दिपावलीमा विद्युत् 'पिक लोड' १२७० मेगावाट कायम

काठमाडौँ - दिपावलीको दिन विद्युत्को 'पिक लोड' १२७० मेगावाट कायम भएको छ । विद्युत प्राधिकरणको प्रणाली सन्चालन विभागका निर्देशक सुरेस भट्टराईकाअनुसार दिपावलीको दिन पिक लोड १२७० मेगावाट कायम भएको हो ।
दिपावलीमा देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध नभएको उनले बताए । सबै प्रकारका जलासय र अर्धजलाययुक्त आयोजना विद्युत्गृहहरूलाई तयारी अवस्थामा राखिए पनि तिनलाई चलाउनुपर्ने अवस्था नआएको उनले जानकारी दिए ।
‘आज दिपावलीमा विद्युत्को पिक लोड १२७० मेगावाट कायम रह्यो । देशभर कतै पनि विद्युत् आपूर्ति अवरुद्ध भएन,’ पिक लोड सकिएपछि भट्टराईले इकागजसँग भने, ‘भारतबाट पनि विजुली आयात गर्नु परेन । दिपावलीको दिन सबै प्रकारका जलासय र अर्धजलाययुक्त आयोजना विद्युत्गृहहरूलाई तयारी अवस्थामा राखिएको थियो । तर, तिनलाई सञ्चालनमा ल्याउनुपर्ने अवस्था आएन ।'
यसअघि प्राधिकरणले दीपावलीभरि झिलीमिली बत्ती बाल्न आग्रह गर्दै विद्युत् आपूर्ति अवरुद्ध नहुनेमा आश्वस्त पारेको थियो । प्राधिकरणले तिहारमा उच्चतम माग १५ सय मेगावाट हुने अनुमान गरेको थियो ।
गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो ।
विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ ।
यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो ।
चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो ।
सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।
यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया