बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

गृहमन्त्री थापा निकटका नेताहरूको सुझाव, ओलीको गैरसंवैधानिक कदममा साथ नदिनुस्

फाइल तस्वीर

काठमाडौं : नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन् । सोमबार बिहान मन्त्री निवास पुल्चोकमा भएको छलफलमा थापा निकटका नेताहरूले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गैरसंवैधानिक भएको बताएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । प्रतिनिधि सभा विघटन गर्ने उक्त कदमको पक्षमा नउभिन अधिकांश नेताहरूले थापालाई सुझाव दिएको उनले बताए । 

जवाफमा थापाले भने दुबै पक्षसँग छलफल गरेर मात्रै निर्णय लिने बताएको भेलामा सहभागी स्थायी कमिटी देव गुरुङले बताए । ‘हामीले हाम्रोतर्फबाट दिने सुझाव दिऔं,’ उनले भने, ‘उहाँँले दुबै कमरेडसँग छलफल गरेर निर्णयमा पुग्ने बताउँनुभयो ।’ उक्त भेलामा गुरुङ तथा पम्फा भुसालसहित २० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी थिए । 

समूहको भेलापछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले थापासँग भेटघाट गरेका छन् । थापाको सरकारी निवास पुल्‍चोकमा पुगेर दाहालले थापासँग भेटघाट गरेको प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । तर उनीहरुबीच के छलफल भयो भन्‍नेबारे बाहिर आएको छैन् ।