शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

'मोदी नेपाल आउनुहुन्छ, म पनि भारत जान्छु' : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ र पशुपति दर्शनका लागि निम्ता गरेको बताएका छन् । कोप-२६ मा भाग लिएर ग्लास्गोबाट बिहीबार बिहान स्वदेश फर्केका देउवालले सञ्चारकर्मीलाई यस्तो जानकारी दिएका  हुन् । 

‘भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तिथि तय भएको छैन । तर उहाँले आउँछु भन्नुभएको छ,’ उनले भने, ‘मैले दुई दिन अघि उहाँसँग छलफल गर्दा नै नेपाल भ्रमणको निम्तो दिएको हुँ । उहाँले आउने बताउनुभएको छ ।’ प्रधानमन्त्री मोदी तिहार लगत्तै पशुपतिमा पूजा गर्ने र त्यसपछि मुक्तिनाथ जाने गरी नेपाल आउने तयारी गरेका छन् । 

उनको भ्रमणबारे काठमाडौँस्थित भारतीय दूतावासले अनभिज्ञता प्रकट गरे पनि होइन भन्न सकेको छैन । ‘उहाँलाई नेपाल मनपर्छ । उहाँ आउन सक्नुहुन्छ । नेपाल सरकारबाट निम्ता पाएका छौँ,’ दूतावासका एक अधिकारीले भने । पाँचौँ पटक प्रधानमन्त्री भएका देउवाले छिमेक भ्रमण नगरी बेलायतमा राष्ट्रसंघीय कार्यक्रममा सहभागी भएर फरक सन्देश दिइएको भनिरहँदा मोदीको नेपाल भ्रमण हुन लागेको हो । 

ग्लास्गोमा पनि देउवा र मोदीबीच लामो छलफल भएको थियो । समग्र दुईपक्षीय विषयमा त्यहाँ छलफल भएको सहभागीले जानकारी दिए । भारतीय पक्षबाट विदेशमन्त्री एस जयशंकर पनि सहभागी थिए । देउवाले संविधान जारी भएदेखिको प्रसंग निकालेका थिए भने मोदीले विगतमा भएको कुरालाई भुल्दै नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । 

भारतसँग सीमा विवाद, नक्साको विवाद मात्र होइन त्यसअघिदेखिको विवाद प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, अन्य सहमति र सम्झौता कार्यान्वयन लगायतको विषयमा पनि छलफल भएको ती अधिकारीले बताए । यस्ता विषयलाई अघि बढाउन बनेको संयन्त्रले बहस र छलफल गर्नुपर्नेमा दुवै प्रधानमन्त्रीको जोड रहेको थियो । 

परराष्ट्र सचिव र भारतीय राजदूतबीचको संयन्त्रले भारतीय सहयोगमा अघि बढेको कामको प्रगतिसँगै अन्य समस्याहरूको विषयमा पनि छलफल गरेर समस्या समाधानमा लाग्नुपर्छ । ‘नेपाल र भारतबीचको सम्बन्धलाई कसरी हुन्छ बलियो र सुमधुर बनाउनेतर्फ लाग्नुपर्ने हुन्छ । यो सहकार्य आवश्यक छ,’ देउवाले भने, ‘उहाँ नेपाल आउनु हुन्छ । म पनि भारत जान्छु । मलाई पनि भारत भ्रमणको निम्तो दिनुभएको छ ।’