सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी, आजै शपथ हुने

सुर्खेत- नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका छन् । अबको केही बेरमै दाबी पेस गर्ने तयारी छ ।

मुख्यमन्त्रीमा दाबी पेस गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भईरहेको नेपाली कांग्रेस कर्णाली प्रदेश स‌ंसदीय दलका प्रमुख सचेतक हिमबहादुर शाहीले जानकारी दिए  । ‘सत्ता साझेदार दलहरुको सहभागितामा दाबी पेस गर्नको लागि अहिले तयारी चलिरहेको छ,’ उनले भने, ‘अबको केही बेरमै दाबी पेस गर्न जाने तयारीमा छौ ।’ कर्णालीमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आव्हान गरेका छन् ।

माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् । सोही बमोजिम नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थन उनलाई हुने छ । संभवतः मुख्यमन्त्रीको आजै सपथ हुन सक्ने सचेतक शाहीले जानकारी दिए ।