मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

ख्यातिप्राप्त ब्राण्डहरू भित्र्याएर आफ्नो 'ब्राण्ड' बनाएका पाण्डे अब हस्पिट्यालिटी व्यवसायमा

काठमाडौँ– व्यावसायिक यात्राको २२औं वर्षमा आरपी ग्रुप अर्को मोडमा आइपुगेको छ– विगत तीन–चार वर्षदेखिको तयारीलाई मूर्त रूप दिदैं व्यवसाय विस्तारको अर्को चरणमा हस्पिट्यालिटी व्यवसाय सुरुवात गर्ने । सन् २०२२ देखि हस्पिट्यालिटी व्यवसायमा प्रवेश गर्न लागेको बताउँछन्, आरपी ग्रुपका अध्यक्ष रुपेश पाण्डे । 
उनको यो योजना तीन–चार वर्षअघिदेखि कै हो, तर कोभिड–१९ महामारीले केही पर धकेलिदियो । एउटा तारे होटल र दुईओटा अन्तर्राष्ट्रिय चेन रेष्टुराँ उनले छिट्टै नेपाल भित्र्याउँदैछन् । 

‘सन् २०२२ को जनवरीबाट उनले दुईओटा अन्तर्राष्ट्रिय चेन रेष्टुराँ र कम्तीमा एउटा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यवस्थापन करारमा तारे होटल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा छ,’ उनी भन्छन् । अहिलेसम्म उनले ब्राण्डेड कपडा तथा एक्सेसरिजको व्यापार गरे । रियलस्टेट व्यवसायमा पनि लागे । 

आयातमा आधारित व्यापारमात्र होइन, अब उनले राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने व्यवसाय गर्नुपर्छ भनेर होटल/हस्पिट्यालिटी क्षेत्रमा हात हाल्न लागेका हुन् । हस्पिट्यालिटी क्षेत्र मुलुकको लागि निकै फाइदाजनक छ । यद्यपि कोभिड–१९ ले शिथिल यस क्षेत्रलाई उठाउन सरकार र निजी क्षेत्रले मिलेर प्रभावकारी काम गर्नुपर्ने बताए । 

नवप्रवेशी पर्यटन व्यवसायी बन्ने क्रममा रहेका उनले हिन्दू र बौद्धमार्गी पर्यटकबाटै नेपालले पर्यटन क्षेत्रको विकासमा कायपलट गर्न सक्ने भन्दै उनले पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी, जनकपुरलाई ब्राण्ड बनाएर हिन्दू र बौद्धमार्गी पर्यटक भएका देशमा नेपाली गन्तव्यहरूको प्रवर्धन गर्नुपर्ने धारणा राख्छन् । ‘पर्यटन आम्दानी बढाएर कोभिड–१९ ले शिथिल पारेको पर्यटन व्यवसाय र राष्ट्रिय अर्थतन्त्र उकास्न सकिन्छ,’ उनले भने, ‘ पर्यटन क्षेत्रको प्रवर्धनका लागि पर्यटन बोर्ड तथा पर्यटन प्रवद्र्धनसम्बन्धी राष्ट्रिय अभियानका कार्यक्रममा राजनीतिक निकटताका आधारमा भन्दा व्यवसायिक र दक्ष व्यक्तिहरू छनौट गर्नुपर्छ ।’

कोभिड–१९ महामारीले मुलुकभित्र उत्पादन र रोजगारीको महत्व निकै जगाइदिएको भन्दै उनले कृषि क्षेत्र र निर्यात प्रवर्धन व्यवसायलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । ‘लकडाउनले गतिरोध उत्पन्न गरेको बजारलाई चलायमान गराउने, उत्पादनमूलक क्षेत्रलाई विस्तार गर्ने हो भने सरकारले निजी क्षेत्रसँग मिलेर योजनावद्ध रूपमा काम गर्नुपर्छ,’ पाण्डे भन्छन्, ‘हाम्रो तुलनात्मक लाभ भएका क्षेत्रहरूमा लगानी आकर्षण गर्ने र साथै लगानीकर्तालाई सहुलियत दिनुपर्छ । हामीले दुई वर्षमा चामल दाल, तेल मात्रै आयात गर्नुनपर्ने अवस्था मात्रै बनाउन सक्यौं भने पनि वार्षिक अर्बौं रुपैयाँ बचत हुन्छ । त्यसलाई मुलुकमै लगानी गरेर थप उत्पादन र रोजगारी बढाउन सकिन्छ ।’

यसका अतिरिक्त हाम्रा गलैंचा, चिया, हस्तकलाका सामानको निर्यात विविधिकरण, बजार प्रवर्धन र मुलुकभित्र पर्यटक भित्र्याउन प्रभावकारी रूपमा पर्यटक आउने स्रोतहरूमै पुगेर नेपालका पर्यटकीय गन्तव्यहरूको बजारीकरण गर्नुपर्ने उनको धारणा छ । 

कोभिड–१९ महामारीबाट प्रभावित व्यवसाय बचाउन नेपाल राष्ट्र बैंकले पुनकर्जा र सहुलियत कर्जाको व्यवस्था गरेको र यो कदम व्यवसायमैत्री भएपनि प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न समय लाग्ने उनी बताउँछन् । व्यवसायीले यो समयमा धैर्य र आत्मविश्वास कायम राख्नुपर्ने भन्दै पाण्डेले दक्षिण एसियामै न्यून श्रम उत्पादकत्व बढाउन केही रूपान्तरणकारी कामहरू गर्न सुझाव दिए । उनको विचारमा सबै कामदारका लागि खोपको व्यवस्था यथाशीघ्र गर्नुपर्छ भने अर्कोतर्फ, सरकारले स्वास्थ्य बीमाको सुनिश्चितता गराउनुपर्छ । ‘अनिवार्य बीमाको व्यवस्था गर्दा सरकारी कर्मचारीको स्वास्थ्य बीमाको प्रिमियम (बीमा शुल्क) सरकारले तिरिदिने र निजी क्षेत्रमा काम गर्नेका लागि कम्पनीमार्फत् बीमा गराउने योजना अनिवार्य गर्नुपर्छ,’ उनी भन्छन्, ‘यदि ५० लाख रुपैयाँको बीमा छ भने काम गर्ने व्यक्तिहरूको मनोबल उच्च हुन्छ । यसले श्रम उत्पादकत्व बढ्छ । रोजगारदाता–श्रमिक सम्बन्ध नयाँ उचाइमा पुग्छ ।’ 

आरपी ग्रुपले लामो समयदेखि सारी, कुर्ता, लेहंगा तथा अन्य फेसन ब्राण्ड र एक्सेसरिजको व्यापार गर्दै आएका छन् । साडी, कुर्ता, लेहंगा उनको पुरानो व्यवसाय हो, जसका १३ स्टोर सञ्चालनमा छन् । जय अम्बे साडी सो रुम न्यूरोड, चाबहिल (गणेशस्थान), बौद्ध, शंखमूल, मैतीदेवी, पुरानो बानेश्वर, कुमारीपाटी, बनेपा लगायतका स्थानमा आउटलेट सञ्चालनमा छन् ।

पाण्डेसँग अहिले २३ ब्राण्ड र २६ स्टोर छन् । लुइस फिलिप, इण्डियन टेरेन, दा मिलानो, रोसो ब्रुनेलो, डब्लु औरेलिया, सेलियो, विभा, राल्फ लरेन, कलर प्लस लगायत ब्राण्ड उनले नेपाल ल्याएका हुन् । उनले आगामी वैशाखसम्म टमी हिलफिगर ब्राण्ड भित्र्याउँदैछन् । पुरुष, महिला र बालबालिका तीनैथरी वर्गका लागि उपलब्ध हुने उनले बताए । ब्राण्डेड सामानको आउटलेटहरू सबै प्रिमियम लोकेसनमा खोलिएका छन् भने अब क्रमशः उपत्यकाबाहिर पनि आउटलेटहरू खुल्ने क्रम जारी छ । कतिपय आउटलेटहरू उनीमार्फत् सामान लिने वितरकहरूले पनि खोलेका छन् । उनले भित्र्याएको दा मिलानो ब्राण्डका जुत्तामा एक वर्षलाई वारेन्टी दिएर बेच्ने गरिएको छ । अन्य सामानमा पनि वारेन्टी दिने गरिएको उनी बताउँछन् । दा मिलानो अरु वितरकमार्फत् पोखरा र धरानमा पुगेको छ । त्यस्तै, इण्डियन टेरेन मिडल रेन्जको ब्राण्ड भएकोले होला काठमाडौँका अतिरिक्त पोखरा, चितवन, वीरगञ्ज लगायतका वितरकबाट पनि राम्रो बिक्री भैरहेको छ । अन्य ब्राण्डहरू पनि देशभर फैलने क्रम जारी छ । 

ब्राण्डेड सामानको व्यापारमा लामो समयको अनुभव सुनाउँदै पाण्डे भन्छन्, ‘कुनै पनि ब्राण्डको सामान होस्, त्यो आफ्नो बजार र उपभोक्ताका लागि सुहाउँदो हुनुपर्छ ।’

नेपाली बजारमा लुइ भिटो, राल्फ लरेन, ब्रुबेरी र गुच्ची जस्ता ब्राण्ड ल्याए पनि थोरै उपभोक्ताले किनेर ब्राण्ड चलाउन गाह्रो हुन्छ भनेरै आफूले ब्राण्ड भित्र्याउँदा यहाँका उपभोक्ताका लागि मूल्य, गुणस्तर अनि त्यो ब्राण्ड अन्तर्राष्ट्रिय बजार उक्त ब्राण्डको प्रभाव हेरेर भित्र्याएको उनी बताउँछन् । 

‘भारतको बजारमा ५००० भारुमा बिक्री हुने सामानको नेपालमा मूल्य १५,००० रुपैयाँ हुनुहुँदैन,’ उनी भन्छन्, ‘ब्राण्ड ल्याउँदा मौज्दातमा पनि ध्यान दिनुपर्छ । व्यापार व्यवसायमा मौज्दात अनुगमन, समय, उपभोक्ताको रूचि, गुणस्तर र कर्मचारीप्रतिको असल व्यवहारका साथ व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

पण्डेको अनुभवमा एक दशकअघिसम्म पनि धेरै मानिसहरू कपडा वा जुत्ताको स्टोरमा आउँदा आफूलाई मनपर्दो सामान छान्थे र लिएर जान्थे । तर पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मको उपलब्धतासँगै ब्राण्डप्रति जागरुकता बढेको छ । ब्राण्ड, म्यानुफ्याक्चरिङ डेट सोध्ने र बारकोड स्क्यानिङ गरेर हेर्नेसम्मको जागरुकता देखिएको उनले सुनाए । 

‘अहिले मानिसहरूले फिटीङ्ग र टिकाउ सामानका लागि ब्राण्डेड सामानमै विश्वास गर्न थालेका छन्,’ पाण्डे भन्छन्, ‘काठमाडौँ उपत्यकामा मात्र होइन, देशका अन्य भूभागमा पनि ब्राण्डप्रति सचेतना त्यत्तिकै बढ्दो छ ।’ उपभोक्ताको सचेतनालाई नजरअन्दाज गर्दै ब्राण्डको नाममा ‘नन–ब्राण्डेड’ सामान राखेर बेच्नेहरू पलायन हुनुपरेको उनले बताए । व्यवसायमा विश्वास आर्जन गर्न लामो समय लाग्छ, तर सानो गल्तीले व्यावसायिक साखमा असर पर्ने भएकाले आफू यसमा सधैं सचेत र सजग रहेको उनले दोहोर्‍याए । 

उनी आरपी ग्रुपको २२ वर्ष व्यावसायिक सफलता धैर्यता, आत्मविश्वास र उपभोक्तामाझबाट आर्जित विश्वसनीयताको जगमा खडा भएको बताउँछन् ।