कोभिडको नयाँ प्रकार देखियो, थुप्रै देशद्वारा यूके यात्रामाथि प्रतिबन्ध

यूकेमा कोभिड-१९ को एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन् । नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन् । आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन् ।
देश अनुसार कदमहरू केही फरक छन् । फ्रान्सेली कदमबाट युरोटनेलमार्फत् हुने रेल सेवा पनि प्रभावित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिडको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग 'नजिकको सम्पर्कमा' रहेको जनाएको छ ।
पहिलाको भन्दा नयाँ प्रकारको भाइरस झन् तीव्र गतिमा फैलिरहेको बताइएको छ । यद्यपि त्यो धेरै घातक नभएको ठानिएको छ । यूकेमा बाहेक कोभिडको यस किसिमको म्यूटेशन अर्थात् उत्परिवर्तन द नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले बीबीसीलाई बताएको छ ।
कोभिडको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण फेला परेको छैन । तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले यूकेमा लन्डनसहित दक्षिण-पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा खालका प्रतिबन्धात्मक कदम चालिएका छन् ।
यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोभिडको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पछिल्लो कदम चालेको हो । द नेदरल्यान्ड्समा 'भाइरसको नयाँ प्रकार फैलिने जोखिम न्यूनीकरणका लागि सम्भव भएसम्मका प्रयास गर्नुपर्ने'मा डच सरकारले जोड दिएको छ ।
यूकेबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिमलाई थप सीमित पार्ने दिशामा युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ । नयाँ रणनीतिहरू तय गर्न सोमवार युरोपेली सङ्घका राजदूतहरूले आपत्कालीन बैठक गर्दैछन् । विश्व स्वास्थ्य सङ्गठनकी इपिडिमियोलोजिस्ट मारिया भान केर्कोभले 'महामारीको शुरूवातदेखि नै डब्ल्यूएचओका विशेषज्ञहरूले विश्वभरि भाइरसको आनुवंशिक परिवर्तनलाई नियाल्दै आएको' बताइन् ।
नयाँ प्रकारबारे हामीलाई के थाहा छ ?
डब्ल्यूएचओले कोभिडको नयाँ प्रकारलाई लिएर यूकेका अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको छ । भाइरसको उत्परिवर्तनसम्बन्धी जारी अध्ययनबारे यूकेलाई जानकारीहरू दिइरहेको र नयाँ भाइरसका विशेषताहरूबारे थप थाहा पाउनासाथ जानकारी गराउने डब्ल्यूएचओले भनेको छ ।
यद्यपि 'उल्लेख्य अनिश्चितता छ', यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन् । इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले 'स्थिति झन् खराब बनाउने' बताएका छन् । यद्यपि कोभिडविरुद्ध खोप दिन थालिएकोले उनले आशावादी कुरा गरे । बीबीसी

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया