केन्द्रमामात्रै होइन प्रदेशमा पनि गुम्यो एमालेको सरकार

काठमाडौँ – नेकपा एमाले विभाजनको असर केन्द्र हुँदै प्रदेश सरकारमा प्रत्यक्ष रुपमा परेको छ । यसैको परिणामस्वरुप केपी ओली नेतृत्वको संघीय सरकार र चार वटा प्रदेश सरकार एमालेविहीन बन्यो । एमालेमा माधवकुमार नेपाल समूहलाई पार्टीभित्रै निषेधको राजनीति गरेर हैरान पारेपछि नेपाल समूहले नयाँ पार्टी गठन गरेको छ । उक्त पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी छ ।
एमालेबाट माधव नेपाल छुट्टिन बाध्य पार्ने ओलीकै कारण संघ सरकार, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र प्रदेश-१ को सरकार पनि एमालेको हातबाट फुत्कियो ।
केपी ओलीले भंग गरेको संसद् पुनःस्थापना गर्दै गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै केन्द्रमा पनि एमालेको सरकारको दिनगन्ती सुरु भएको थियो । जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत रहेको भन्दै सर्वोच्चले संसद् पुनःस्थापनाको फैसला सुनाएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासले असार २९ गते प्रधानमन्त्री नियुक्ति गर्न पनि परमादेश जारी गरेको थियो । सोही आदेशअनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल समूहका सांसदले पनि समर्थन जनाउँदै हस्ताक्षर गरेका थिए । एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समावादी, जनमोर्चालगायत दलको गठबन्धननै बनेको छ ।
गण्डकी प्रदेश सरकार
तत्कालीन नेकपाको सरकार हुँदा एकल बहुमतसहित सरकारको नेतृत्व गरेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार पनि विभाजनकै असरले गर्दा ढल्यो । नेकपा विभाजन भएपछि विश्वासको मत लिन गुरुङ नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्ताव दर्ता गरेको थियो । विश्वासको मत लिने कार्यसूची भएको दिन जेठ २७ गते विश्वासको मत पाउन नसकेपछि उक्त सरकार पनि ढलेको थियो ।
विश्वासको मतको पक्षमा जम्मा २७ मत र विपक्षमा ३० मत भयो । ६० सदस्यीय प्रदेश सभामा ५८ जनाको उपस्थिति थियो । जसमध्ये ५७ जनाले मतदान गरेका थिए । मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाका ६० मध्ये ३१ सदस्यको साथ पाउनुपर्ने थियो। तर, उनलाई २७ जना सांसदले मात्र समर्थन गरेका थिए ।
लुम्बिनी प्रदेश सरकार
लुम्बिनी प्रदेश सरकार पनि एमाले विभाजन असरकै कारण ढल्यो । सरकार अल्पमतमा परेपछि गत साउन २७ गते मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए । प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची भए पनि स्पष्ट अल्पमतमा भएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । शंकर पोखरेल २०७४ फागुन ३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
तत्कालीन नेकपाबाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेपछि र एमालेका दुई प्रदेश सांसद्ले राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए ।
अष्टलक्ष्मी शाक्य बागमती प्रदेश
यता बागमती प्रदेश सरकारमा पनि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार पनि तीन महिना नटिक्दै ढल्यो । यहाँ पनि एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै अल्पमतमा परेर सरकार ढलेको हो । यहाँ एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन् ।
शाक्यले कात्तिक १० गते प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् । विश्वासको मत प्रस्तावमा मतदान गर्न प्रदेश सभा बैठक बसे पनि विश्वासको मत नपाउने निश्चित भएपछि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । यहाँ कांग्रेस, एमाले, नेकपा एकीकृत समावादीको गठबन्धनको सरकार छ ।
प्रदेश १ सरकार
एमाले विभाजनको असरकै कारण आज (कात्तिक १५) मात्रै प्रदेश-१ को सरकारको नेतृत्वबाट एमाले बिदा भएको छ । एमालेका मुख्यमन्त्री भीम आचार्यले आफू अल्पमतमा रहेको उल्लेख गर्दै संसद्लाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया