शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास काठमाडौंमा सुरु

काठमाडौँ - नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आरम्भ भएको छ । ‘एक्स टीक नेल’ नाम दिइएको उक्त अभ्यास काठमाडौँ र पोखरामा हुने नेपाली सेनाले जनाएको छ । उक्त अभ्यास विपद् व्यवस्थापनमा केन्द्रित रहने पनि सेनाले स्पष्ट पारेको छ ।

नेपाली र अमेरिकी सेनाबीच यो अभ्यासमा मुलतः पानी र हिमालमा फसेकाहरूलाई कसरी उद्दार गरिन्छ भन्नेमा केन्द्रित रहनेछ । अमेरिकी सेनाहरू पानी र हिमाली क्षेत्रमा उद्धारका लागि निपूण मानिन्छन् । अभ्यासका क्रममा अमेरिकी सेनाले हिमाली क्षेत्रमा फसेकाहरूलाई गरिने उद्धारकाबारेमा नेपाली सेनालाई तालिम दिनेछन् । 

नेपाली सेना र अमेरिकी सेनाबीच हुने अभ्यासमा नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरू मध्येबाट करिब ५० जना तथा अमेरिकी सेनाका करिब २० जना सम्मिलित हुने सैनिक प्रवक्ता एवम् सहायक रथी सन्तोषबल्लभ पौड्यालले बताए । उनका अनुसार यो प्रशिक्षण मंसिर १४ सम्म चल्नेछ । 

‘विपद् व्यवस्थापन केन्द्रित यो प्रशिक्षणले नेपाली सेनालाई थप निखार्ने र क्षमता अभिवृद्धि गर्नेछ,’ प्रवक्ता पौड्यालले भने । नेपाली र अमेरिकी सेनाबीचको यो अभ्यास २२ औं संस्करण हो । यसअघिका २१ वटा संस्करण नेपालमा भएका थिए । अमेरिकी सेनाले नेपाली सेनालाई उपलब्धीमूलक सहयोग पनि गर्दै आएको अवस्थामा यो सहकार्य आफैंमा सहकार्य गर्ने माध्यम भएकाे नेपाली सेनाले जनाएकाे छ ।

भारतसँग यसअघि अभ्यास गरेको नेपाली सनोले चीनसँग पनि अभ्यास गर्दै आएकोमा कोभिडले पारेको प्रभावलाई चिरेर अब त्यता पनि अभ्यास जरुरी छ । अन्य मित्र मुलुकहरूसँग पनि विस्तारै अभ्यास बढाउँदै लैजान नेपाली सेना तयार हुनुपर्छ । यो अभ्यास सैन्य कूटनीतिको एक पाटो पनि हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाहको उपस्थितीमा  यो अभ्यास आरम्भ भएको हो । कार्यक्रममा अमेरिकी दूतावासको प्यासिफिक टिमका साथै डिफेन्स को-अपरेसन टिम पनि सहभागि थिए भने नेपाली सेनाका रथीवृन्दकाे पनि उपस्थिति थियो ।