बाह्रबिसे सवस्टेशनको ठेकेदारलाई कुलमानको चुनौती

काठमाडौँ - विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेशन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।
‘करिब दुई वर्ष अघिभन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं, त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाही प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई चुनौती दिंदै कार्यकारी निर्देशक घिसिङले भने ।
सबस्टेशन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेशन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको हो । खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको थियो ।
प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेशन पनि निर्माण गरिरहेको छ । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टशनको निर्माण भइरहेको हो ।
ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले चार महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ ।
कम्पनीले सबस्टेशनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेशनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् । सबस्टेशन निर्माणपछि स्थानीय रूपमा बाह्रबिसे बजारबाट सबस्टेशनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकोले निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामग्री ढुवानीका लागि समस्या छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ ।
चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेशनमा जोडिने छ । यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसेहुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ ।
यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेशनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी केइसी इन्टरनेशनल छनोट भएको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ ।
भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया