बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

महाधिवेशन स्थलको निरीक्षण गर्न चितवन आउँदै ओली

चितवन- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
 
अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रको टुङ्गो लागे पनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन । ओलीले आज निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने  एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताइन् । 

ओली आज काठमाडौँबाट स्थलमार्ग हुँदै चितवन आउँदै छन् । चितवन आएलगत्तै उद्घाटन स्थलको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो पश्चात् नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर उनी महाधिवेशनको बन्द सत्र हुने सौराहा जाने कार्यक्रम रहेको रावलले जानकारी दिइन्। 

दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्यामा र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ । चितवन बसाईका क्रममा ओलीकाे विभिन्न नेता कार्यकर्तासँग भेटघाट कार्यक्रम रहेकाे छ । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम चरणमा आएर चितवन सारिएको हो ।

रासस