सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

नन्कुन्नी र निर्मला मृत्यु प्रकरणबारे छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ - बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु प्रकरण छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित समितिले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो ।

‘छानबिनको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउँछौं । स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेर बुझाएकोमा समितिलाई धन्यवाद,’ प्रतिवदन बुझ्दै खाणले भने ।  बाँकेको जानकी गाउँपालिका- २ नेवाजीकी नकुन्नी धोबीको घटनामा रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षिराम धोबीउपर माताप्रसाद धोबीले   जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको प्रतिवेदमा उल्लेख छ ।

दुवै अभियुक्तउपर जिल्ला अदालत बाँकेमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएकोमा भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको मुद्दा विचाराधिन रहेको पनि प्रतिवेदनमा उल्लेख छ । कुर्मीमाथि भएको घटना चार विगाह १० कट्ठा जग्गा हडप्ने नियतले भएको छानबिन समितिले जनाएको छ ।

समितिमा प्रहरी उपरीक्षक रामप्रकाश साह, उप-अनुसन्धान निर्देशक वीरेन्द्रसिंह कार्की, उपसचिव रामप्रसाद लम्साल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत अमरराज सेजुवाल र मोहम्मद शेर बागवान सदस्य छन् ।