सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

मूल धारमा नआएका राजनीतिक दलहरूसँग सरकारले संवाद थालेको छ : खाण

सरकारको आलोचना गर्न पत्रकारलाई आग्रह

बुटवल - कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूसँग सरकारले संवाद थालेको बताएका छन् ।सरकारको मूल दायित्व नागरिकको जीवन रक्षासँगै संविधानको पालना गराउँने भएको भन्दै उनले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याउनको लागि सरकारले संवाद थालेको बताए ।

गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको आफ्नै निवासमा आइतबार कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मन्त्री खाणले गणतन्त्र, संविधान र अहिलेको व्‍यवस्थाप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वास व्यक्‍त गरे ।

नेपाली कांग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने बताए । संविधानको रक्षा गर्दै जनताको विश्वास
जित्न अहिलेको सरकार सफल हुन खाणले दाबी गरे । 

यस्तै गृहमन्त्री खाणले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुइटा पाटा रहेको बताउँदै पत्रकारिता स्वतन्त्र भए लोकतन्त्र बलियो हुने दाबी गरे । उनले सरकारको
आलोचना गर्न पत्रकारहरूलाई आग्रह गर्दै आलोचनाबाट नै सरकार सच्चिन सहयोग मिल्ने जिकिर गरे ।