सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

बेलायत नेपालको सबैभन्दा पुरानो मित्र हो : प्रधानमन्त्री देउवा

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएको र द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्बन्ध मित्रता, सद्भाव र पारस्परिक विश्‍वासको आधारमा कायम रहँदै आएको धारणा व्यक्त गरेका छन् । 

नेपालका लागि सर्वदलीय संसदीय समूह (एपिपिजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्‍चले  शनिबार साँझ आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उनले ब्रिटिश गोर्खाहरूको लामो समयदेखिकोे योगदानले सम्बन्धको अर्को महत्वपूर्ण कडीको रूपमा काम गरेको उल्लेख गरे । यी सम्बन्धलाई थप सुमधुर बनाउन दुवै देशका संसदहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उनले सर्वदलीय समूहले निर्वाह गरेकोे भूमिकाप्रति आभार व्यक्त गरे । 

प्रधानमन्त्री देउवाले दुई देशका संसद्बीचको विद्यमान सम्बन्धलाई अझ प्रगाढ बनाउन संसदीय प्रतिनिधिमण्डलको भ्रमणलाई निरन्तर र नियमित गर्न आग्रहसमेत गरे । उनले भने, 'संसदीय लोकतन्त्रमा साझा विश्वास नेपाल र बेलायतबीचको घनिष्ठ सम्बन्धको आधारभूत पक्ष हो, नेपालप्रति समर्पित संसदीय निकायका रूपमा, समूहले यी सम्बन्धलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बेलायती संसद्लाई बेलायती लोकतन्त्रको संस्थाको रूपमा मात्र नभई बहुदलीय प्रजातन्त्र र मौलिक स्वतन्त्रताको प्रतीकको रूपमा पनि प्रशंसा गरिन्छ ।'

नेपालको  प्रजातन्त्रले आफ्नो लोकतान्त्रिक संस्थाको जग बलियो बनाउन इमान्दार प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र र स्वतन्त्रताका लागि लामो सङ्घर्ष गर्नुपरेको बताए । प्रजातन्त्र र स्वतन्त्रताका लागि आफूले दशकौंदेखि कडा संघर्ष गरेकाले प्रजातन्त्र र स्वतन्त्रता आफूलाई प्यारो भएको उनको भनाइ थियो ।

'संसदीय लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी प्रतिनिधित्व, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा राजनीतिक शक्तिको शान्तिपूर्ण हस्तान्तरणका प्रमुख विशेषतालाई सुदृढ गर्ने संविधान हो' प्रधानमन्त्री देउवाले उल्लेख गरे । 
 
नेपालको संविधानले संघीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको प्रत्याभूति गरेको जानकारी गराउँदै उनले अहिले सबै निर्वाचित निकायमा ४१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए । 

लोकतन्त्रले जनताको सामाजिक र आर्थिक विकासको आकांक्षा पूरा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले नेपालजस्तो मुलुकका लागि आर्थिक विकास गर्न स्रोतसाधनको कमी ठूलो चुनौती भएको र त्यसमाथि कोभिड–१९को महामारीले विकास गर्ने आफूहरुको क्षमतालाई थप बाधा पुर्‍याएको धारणा व्यक्त गरे । 

रासस