सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

राष्ट्रपति भण्‍डारी र कार्यवाहक प्रधानमन्त्री खाण आज रुपन्देही आउँदै

बुटवल - राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री वालकृष्ण खाँण आज रुपन्देही आउदै छन् । लुम्बिनी विकास कोष र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरू लुम्बिनी आउन लागेका हुन् ।

राष्ट्रपति भण्डारी पोखराबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान ११ बजेसम्म लुम्बिनी आइपुग्ने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । लुम्बिनीमा आएपछि सबैभन्दा पहिला त्यहाँ बनेको बज्रयान बिहार उद्घाटन र पूजा गर्ने छिन् । त्यसपछि मायादेवी मन्दिर दर्शन र लुम्बिनी विकास कोषको गुरुयोजनाको प्रगतिबारे जानकारी लिने कार्यक्रम छ । त्यसपछि लुम्बिनीमै बनेको अन्तराष्ट्रिय सभा हलको अवलोकन गरेर राष्ट्रपति भण्डारी गौतमबुद्ध विमानस्थलमा जाने कार्यक्रम रहेको राईले जानकारी दिए ।

बुद्धमूर्ति अनावरण गरिँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति गौतमबुद्ध विमानस्थलमा आजै अनावरण गरिंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी र कार्यवाहक प्रधानमन्त्री खाणँले आज दिउँसो उक्त मूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

म्यान्मारस्थित खानीसम्बन्धी काम गर्ने कम्पनी मालविन ग्रुपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्ध मूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा विमानस्थलमा ल्याइएको हो ।

बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुई जना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । उक्त बुद्ध मूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको छ । सो बुद्ध मूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’ को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको छ । दुई करोड १६ लाख अमेरिकी डलर बराबरको उक्त मूर्ति फाउण्डेसनले नेपाललाई उपहार स्वरूप दिएको हो ।