बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

अग्‍नि सापकोटा संसदीय व्यवस्थाका कलंक : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलंकलाई कसैगरी एमालेले हराउनै पर्छ ।  सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालले जित्नुपर्छ,’ ओलीले भने । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो अस्थिर चरित्रका कारण कुनै पार्टीमा पनि टिक्न नसक्ने दाबी गरे ।

‘उनको धक्का दिने, क्रमभंग गर्ने र छलाङ मार्ने बानी रहेछ । आफ्नै यो बानीका कारण उनले आफैंलाई धक्का हानेर छलाङ मारेर अहिले माओवादी केन्द्रमा थन्किएका छन्,’ ओलीले आश्चर्य प्रकट गरे, ‘उनले एमाले दक्षिणपन्थी भयो भन्छन्, माओवादी क्रान्तिकारी हो भने कांग्रेसको पछि किन लागेको त ?’ 

तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्यक्रममा ओलीले नेपालका चाडपर्वहरूले देशको विविधतालाई एकताबद्ध बनाउने बताएका छन् । उनले सिन्धुपाल्चोकमा एमालेका नेता कार्यकर्ता मिलेर पार्टीलाई विभाजनबाट रोकेकोमा कार्यकर्तालाई धन्यवाद दिँदै आफू बन्नका लागि देश बिगार्नेहरूलाई साथ नदिएको भन्दै नेता र कार्यकर्ताहरूको प्रशंसा गरे । सिन्धुपाल्चोकमा एमाले विभाजनअघि माधव नेपाल पक्ष बलियो थियो, तर सो पक्ष अहिले संस्थापनमै बसेको छ ।