अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यवसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।
नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासंघ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्याउने गरेको बताउँछिन् ।
तीन रोपनी जग्गामा फूलखेती गरेकी उनले एक सिजनमा चार लाखसम्म आम्दानी हुने गरेको सुनाइन् । बस्नेत भन्छिन्, 'मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै तीन लाखको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ ।' एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उनले एउटा मालाको यस वर्ष कम्तीमा २५ मा बिक्री हुँदा पनि एक लाखको माला उत्पादन हुने बताइन् ।
उनले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आएकी छिन् । उनले भनिन्, 'यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ ।' विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला २५ मा खरिद गरी २७ मा पठाउने गरेको उनको भनाइ छ ।
मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैँ बजार पुर्याउने गर्छन् । सयपत्री फूल एक मुठाको १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको ६ सयमा बिक्री गरेको छ । स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै एक लाखको फूल बिक्री हुने बताइन् । उनले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट एक हजार १०० माला उनेको बताइन् । अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ ।
रासस

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया