शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

बहराइनमा तीनदेखि ११ वर्षसमूहलाई सिनोफार्म खोप लगाउन अनुमति

मानामा - बहराइनमा ३ वर्षदेखि ११ बर्षसमूहका बालबालिकालाई पनि सिनोफार्म खोप लगाउन अनुमति दिइएको छ । बहराइनका स्वास्थ्य अधिकारीहरूले देशभरका सो उमेर समूहका बालबालिकाहरूलाई खोप लगाउनु उपयुक्त हुने निष्‍कर्ष निकालेका हुन् ।    

बालबालिकाहरूलाई खोप लगाउने बारेमा मङ्लबार निर्णय भएको र बुधबारदेखि फाराम भर्न पाइने व्यवस्थासमेत गरिएको अधिकारीहरूले जनाएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको सिफारिसका आधारमा आफूहरूले बालबालिकालाई पनि खोप लगाउने प्रक्रिया सुरु गरेको सरकारी स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।  

बालबालिकालाई खोप लगाउनेसम्बन्धी निर्णयको विस्तृत विवरण भने स्वास्थ्य मन्त्रालयको वेभसाइट राखिएको उनीहरूले बताएका छन् । बहराइनको राष्ट्रिय चिकित्सा कार्यदलले कोरोनाभाइरसविरुद्ध लड्न विभिन्न उपायहरू अपनाउने शिलशिलामा बालबालिकाहरूलाई पनि खोप लगाउन थालेको हो । 

बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउने निर्णयबाट देशवासी खुशी भएका छन् भने सरकारी अधिकारीहरुले पनि महामारी नियन्त्रण हुने अपेक्षा गरेका छन् ।