निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर निगमलाई कमजोर बनाउँदिनः मन्त्री आले

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी क्षेत्रको कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । मन्त्री आलेले विगतमा नेपाल वायु सेवा निगमको जहाजको ग्राउन्ड ल्यान्डिङ समेत आफ्नो व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत जनाए ।
नेपाल पर्यटन बोर्डले मंगलबार आफ्नै स्वागतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल वायु सेवा निगमको थन्किएर बसेको दुई वटा जहाजलाई तत्काल संचालनमा ल्याएर नेपालमा पर्यटन भित्र्याउने काममा आफू लागिपर्ने कार्ययोजना पनि सार्वजनिक गरे ।
मन्त्री आलेले आईकाओको कालो सूचीबाट नेपाललाई हटाउन पनि आफूले पहल गर्ने बताए । त्यसका लागि आफूले निगमकै कर्मचारी संघ, संगठनहरुको माग अनुसार कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको उनले स्पष्ट पारे । अब निगमको बैठक बस्ने र त्यसले निगमको थन्किएर बसेको विमान संचालन गर्ने, पर्यटन प्रवद्र्धन हुने गरी उडान भर्ने लगायतका काम गर्ने मन्त्री आलेको भनाइ थियो ।
उनले भने, ‘आफ्नो नेपाल एयरलाईन्सको जहाजलाई घाममा सुकाएर प्राईभेट एयरलाईन्ससँग सेटिङ गरेर उसलाई रातारात करोडपति बनाउने अनि नेपाल एयरलाईन्सको ग्राउन्ड ल्यान्डिङ चाँही कुनै निजी कम्पनीलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि दिने काम प्रेम आलेले गर्दैन । म त्यसमा छैन । म त्यो पनि विश्वास दिलाउन चाहन्छु । र म आएको २४ घण्टा नबित्दै नेपाल एयरलाईन्सको १ सय ४ दिनदेखि लगाइएको तालाबन्दी खुलाए ।
त्यहाँका संघ, संगठन र युनियनका कर्मचारीहरुसँग वार्ता गरेर त्यो समस्या समाधान गरियो । उहाँहरुका माग के थियो भने हामीलाई अध्यक्ष चाहियो । अध्यक्ष छिटो दिनुस भन्नु भयो । हिजो क्याविनेटबाट हामीले अध्यक्ष नियुक्त गरेका छौं । युवराज अधिकारी अध्यक्ष हुनुहुन्छ । अब छिट्टै निगमको बैठक बसेर थन्किएर बसेका २ वटा जहाज पनि संचालनमा ल्याउनेछौं । नेपालमा पर्यटन भित्र्याउनका लागि आवश्यक कामहरु गरेर अघि बढनेछौं ।’
मन्त्री आलेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको बताए । कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको पनि उनले बताए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया