२० महिनापछि ४८ जना पुराना नेपाली कामदार भोलि कोरिया जाँदै
भाषा परीक्षा पास गरेकाले अझै पर्खनुपर्ने

काठमाडौँ- झन्डै दुई वर्षपछि नेपाली कामदार भोलि कोरिया जान पाउने भएका छन् । ४८ जना कमिटेड कामदार बुधबार साँझ ७:३० बजेको कोरिएन एयरमा कोरिया जानेछन् ।
यसअघि कोरिया ईपीएस शाखाले ५० जना कामदार कात्तिक १० गते जनाएको थियो । दुई जना कामदारको सीसीभीआई फारम भरेको समय सकिएकाले दोस्रो उडानमा उनीहरू जान पाउने शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए ।
महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक 'कमिटेड' कामदार लान लागेको हो । (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू) । कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्त भएकाहरू जान पाउने भएका हुन् ।
सीसीभीआई फारमको ६ महिनासम्मको समय रहने गरेको छ । धेरै समयसम्म जान नपाएकाले फारमको समयावधि सकिएको हो । समय सकिए पनि पुनः फारम भरेर रोकिएको कामदारलाई दोस्रो उडानमा पठाइने उनले बताए । दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी गरेको राउतले बताए । 'मङसिको दोस्रो सातासम्ममा बाँकी कामदारलाई पठाइन्छ,' उनले भने ।
कमिटेड कामदार करिब २५ सयको संख्यामा छन् । कमिटेडेड कामदारलाई पठाइसके पश्चात बाँकी रहेका भाषा परीक्षा पास गरेकालाई पठाउन शाखाले पहल थाल्ने छ । 'पहिलो प्राथमिकतामा कमिटेड कामदारलाई पठाउने रहेको छ,' उनले भने,' भाषा परीक्षा पास गरेकाले केही समय पर्खनुपर्छ ।'
सरकारले भाषा परीक्षा गर्न पुसदेखि कोरियासँग छलफल गर्ने भएको छ । कमिटेड कामदारलाई लैजान थालेपछि नियमित प्रक्रिया अगाडि बढने उनको भनाइ छ ।भाषा परीक्षा नगरिएमा कोरियाबाट नेपालले पाउने कामदारको कोटा गुम्न सक्ने खतरा रहेको उनले बताए । 'कोरियाले जबसम्म परीक्षा लिन निर्देशन दिँदैन तबसम्म हामीले परीक्षा लिन पाउँदैनौ,' राउत भन्छन्,' कोरियाले गर्दा परीक्षा नभएमा सम्झौता अनुसार उनीहरू आफै जिम्मेवार हुनुपर्छ ।'
भाषा परीक्षा पास गरेका कुल सात हजार परीक्षार्थी छन् । सबै गरेर कुल १० हजार जना कोरिया जाने पर्खाइमा रहेको राउतले बताए । कोभिड नियन्त्रण हुन नसकेकाले पनि परीक्षा सञ्चालनगर्न नसकेको हो । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।
श्रम स्वीकृति प्राप्त गरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन्। नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीक रूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् ।
सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । अब भने कोरियाले 'कमिटेड' भिसा भएका ११९ जना कामदारलाई लाने भएको छ । यसअघि कोरियाले महामारीको बीचमा पनि भियतनाम, मंगोलियालगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया