चिनियाँ राष्ट्रपति सीद्वारा इतिहासको सत्य पक्षमा उभिन आह्वान

बेइजिङ - चीनका राष्ट्रपति सी चिनफिङले अक्टोबर २५ तारिख बेइजिङस्थित जनबृहत् सभा भवनबाट भिडियोमार्फत् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटरेससँग भेटवार्ता गरेका छन् । वार्ताको क्रममा राष्ट्रपति सीले चीनले संयुक्त राष्ट्र संघसँग पचास वर्षको अवधिमा सहकार्य गर्दै संयुक्त राष्ट्र संघको सपनालाई सधैं पछ्याउँदै बहुपक्षीयतावाद तथा विश्व शान्ति तथा विकासका लागि योगदान दिनु रहेको औंल्याएका छन् । चीनले विश्वका विभिन्न मुलुकसँग मिलेर संयुक्त राष्ट्र संघको झण्डामुनि एकताबद्ध भई मानव भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको पनि उनले बताए ।
सो क्रममा, महासचिव एन्टोनिओ गुटेरेसले पचास वर्षअघि आजको दिनमा जन गणतन्त्र चीनले संयुक्त राष्ट्र संघमा वैधानिक स्थान पुनः प्राप्त गर्नु एउटा न्यायिक दिवस भएको भन्दै शुभकामना व्यक्त गरे । उनले चीनको विकासले विश्वलाई अवसर उपलब्ध गराएको बहुपक्षीयवादलाई सदा समर्थन गर्दै संयुक्त राष्ट्र संघको कार्यमा निरन्तर समर्थन गरेकोमा कृतज्ञता व्यक्त गरे । साथै विश्व शान्ति तथा विकासका लागि खेलेको महत्वपूर्ण भूमिका र गरिबी उन्मूलन, विश्व जलवायु परिवर्तनको सामना, जैविक विविधताको संरक्षण, कोभिड भाइरस विरुद्धकाे खोपलाई विश्वको सार्वजनिक वस्तु बनाउन पहल गरेकोमा चीनको संयुक्त राष्ट्र संघले प्रशंसा गरेको बताए ।
यसै गरी सीले संयुक्त राष्ट्र संघमा नयाँ चीनको वैधानिक स्थान पुनःप्राप्तिको ५० औं वार्षिकोत्सव भएको बताउँदै चीनले स्मृति सम्मेलनको आयोजना गर्नुको उद्देश्य चीन र संयुक्त राष्ट्रसंघले हिँडेको असामान्य प्रक्रियाको सिंहावलोकन गर्नु र नयाँ ऐतिहासिक आरम्भ बिन्दुबाट यात्रा प्रारम्भ गरी सुन्दर संसारको सिर्जना गर्नु रहेको बताए । सो भिडियो वार्ताअघि चिनियाँ राष्ट्रपति सीले संयुक्त राष्ट्र संघमा जनगणतन्त्र चीनले वैधानिक सिट पुन: प्राप्ति गरेको ५० औं वर्षगाँठको समारोहमा सहभागी हुँदै महत्त्वपूर्ण सम्बोधन गरेका थिए ।
सो सम्बोधनमा राष्ट्रपति सीले संयुक्त राष्ट्र संघमा चीनले वैधानिक स्थान पुनःप्राप्ति गर्नु विश्वको साथै राष्ट्र संघकालागि एउटा महत्त्वपूर्ण घटना भएको भन्दै विश्व शान्तिलाई माया गर्ने र न्यायप्रेमी मुलुकहरुको संयुक्त प्रयासको परिणाम रहेको बताए । यो घटनाले विश्वको जनसंख्यामध्ये एक चौथाइ भाग ओगटेको चिनियाँ जनता फेरि संयुक्त राष्ट्र संघको मञ्चमा उभिनु चीन तथा विश्वका लागि अर्थपूर्ण रहेको औंल्याएका थिए ।
राष्ट्रपति सीका अनुसार, ५० वर्षअघि संयुक्त राष्ट्र संघको २६ औं महासभाले अत्यधिक बहुमतद्वारा २७५८ नम्बरको निर्णय प्रस्तावलाई पारित गर्दै संयुक्त राष्ट्र संघमा रहेको जन गणतन्त्र चीनका सबै अधिकारको पुन: प्राप्ति गर्ने निर्णय गरेको थियो । साथै त्यस महासभाले जनगणतन्त्र चीन सरकारका प्रतिनिधि संयुक्त राष्ट्र संघमा रहेको एउटामात्र वैधानिक प्रतिनिधि हुने कुरालाई मान्यता दिएको थियो । त्यो चिनियाँ जनताको जीत हुनुका साथै विश्वका विभिन्न मुलुकका जनताको साझा जीत पनि हो ।
पछिल्ला ५० वर्षमा चीनले शान्तिपूर्ण रूपमा विकास गर्नुका साथै सम्पूर्ण मानवलाई हित कल्याण गरेको उल्लेख गर्दै सीले चिनियाँ जनताले सधैं नै विश्वका विभिन्न मुलुकका जनतासँगै एकताबद्ध भएर अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गर्नुका साथै विश्व शान्ति र विकासका लागि महत्त्वपूर्ण योगदान गर्दै आएको बताए । एउटा देशको विकास गर्न त्यस देशको वास्तविक परिस्थिति र जनताको समर्थनको धेरै महत्त्वपूर्ण अर्थ रहेको भन्दै सबै मानिसले संयुक्त रूपमा कठिनाइको समाधान गर्नुपर्ने, संयुक्त रूपमा जीवन बिताउनुपर्ने र मानव जातिका लागि साझा भविष्य भएको समुदायको निर्माण गर्नुपर्ने पनि व्यक्त गरे ।
उनले एउटा प्राचीन चिनियाँ कविता- 'शहरिया पहाडहरू एउटै बादल र वर्षामा रम्छन्, एउटै चन्द्रमाले जतिसुकै टाढा रहेका शहरहरूलाई उज्यालो पार्छन्' को उल्लेख गर्दै हातमा हात मिलाएर, इतिहासको सत्य पक्षमा र मानव प्रगतिको पक्षमा उभिन तथा विश्वको दिगो र शान्तिपूर्ण विकासको लागि र मानवजातिको साझा भविष्य समुदायको निर्माण गर्न आह्वान पनि गरे ।
एउटा सुन्दर तथा खुसीले भरिएको विश्वको संयुक्त रूपमा निर्माण गर्ने कुरामा जोड दिँदै सीले जनतालाई महत्त्व दिई केन्द्रीय भागमा राख्नुपर्ने र सबै जनताको समान सहभागी तथा समान लाभ प्राप्त गर्न सक्ने अवसरको सिर्जना गर्नुपर्ने भन्दै हरेक व्यक्तिको हित कल्याण हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । आपसी हित र साझा जित तथा खुलापनलाई निरन्तरता र बहुपक्षीयवादमा दृढ समर्थन रहने पनि सीले उल्लेख गरे । अन्तर्राष्ट्रिय समुदायले क्षेत्रीय विवादका साथै आतंकवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा, जैविक सुरक्षाजस्ता विश्वव्यापी मुद्दाहरूको सामना गरिरहेको अवस्थामा थप समावेशी विश्वव्यापी सुशासन, अझ प्रभावकारी बहुपक्षीय संयन्त्र र थप सक्रिय क्षेत्रीय सहयोगको खाँचो रहेको औंल्याए ।
उनले चिनियाँ विशेषतायुक्त मानव अधिकारको विकासको बाटोले चीनको मानव अधिकारको प्रगति र अन्तर्राष्ट्रिय मानव अधिकार कार्यका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले भने, ‘मानवजातिसामू देखा परेका विविध चुनौती र विश्वव्यापी समस्याको समाधान गर्नका लागि आपसी सहयोगलाई सबल पार्नुपर्छ । हामीले हातमा हात मिलाउँदै विश्वको स्थायी शान्ति र विकासलाई साकार तुल्याउन र मानव जातिको भाग्यमा एकरूपताको स्थापनालाई अघि बढाउनका लागि अथक प्रयास गर्दै जानुपर्छ ।’ यसै गरी हरित उपभोगलाई प्रोत्साहन गर्न र सभ्य तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धनको आवश्यक रहेको पनि औंल्याए ।

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

प्रतिक्रिया