शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच कोप–२६ बारे छलफल

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच  भेटघाट भएको छ । 

आइतवार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको थियो ।

‘साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ,’ मन्त्री शर्माको सचिवालयले भनेको छ । सहयोगका लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

यसका अतिरिक्त मन्त्री शर्मासँगको भेटमा राजदूत पोलिटले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपालजस्ता देशहरूले क्षतिपूर्ति पाउनेगरी प्रभावकारी नीतिगत व्यवस्था गर्ने विषयमा पनि छलफल हुनुपर्ने बताइन् । बेलायत नोभेम्बर महिनामा हुने कोप–२६ को आयोजक राष्ट्र हो । 

नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा प्रतिनिधिमण्डलले कोप–२६ मा सहभागिता जनाउने कार्यक्रम तय भएको छ ।