फोहोर व्यवस्थापन : पाेखरा महानगरलाई टाउको दुखाइ, ठेकेदारलाई कमाउ धन्दा
पोखरा - बढ्दो सहरीकरणका कारण पोखराको फोहोर उत्सर्जन दैनिक बढिरहेको छ । यहाँका नागरिकले उत्सर्जन गरेको फोहोर व्यवस्थापन पोखरा महानगरलाई भने टाउको दुखाई बनेको छ ।
पोखरामा दैनिक कति फोहोर निस्किन्छ भन्ने ठ्याक्कै तथ्यांक छैन । सन् २०१८ मा गरिएको एउटा अध्ययनले यहाँका प्रत्येक व्यक्तिले सरदर करिब आधा केजी फोहोर उत्सर्जन गर्ने तथ्यांक निकालेको छ । सोही रिपोर्टअनुसार प्रतिदिन पोखराबाट एक सय ८८ टन फोहोर निस्किन्छ । फोहोर व्यवस्थापन गर्न पोखराको आफ्नै ल्यान्डफिल साइट छ । ल्यान्डफिल साइट र सहरी सरसफाइका लागि मात्रै ८० भन्दा बढी कर्मचारीलाई नगरपालिकाले तलब दिएर राखेको छ । पोखराले फोहोर व्यवस्थापनकै लागि वर्षेनी सात करोडभन्दा बढी खर्च गर्छ ।
सार्वजनिक निजी साझेदारी अवधारणामा यहाँको फोहोर व्यवस्थापन गर्न ६ वटा निजी कम्पनीको जिम्मा लगाइएको छ । विना टेन्डर ठेक्का दिए पनि उचित व्यवस्थापन हुन सकेको छैन । कर्मचारी र जनप्रतिनिधिकै मिलेमोतोमा निजी कम्पनीसँग मिलेर कमाउ धन्दा चलाइरहेका छन् । महानगरले श्रोत साधन दिएर फोहोर उठाएबापत उल्टै पैसा भुक्तानी दिँदै आएको छ । फोहोर उठाउन आवश्यक पर्ने कम्प्याक्टर र टिपर खरिद महानगरले गरिदिएको छ । ठेकेदारले आफूखुसी पैसा उठाएर खाइरहेका छन् ।
२०६१ सालदेखि पोखरामा फोहोर व्यवस्थापनको लागि ठेक्का दिइएको हो । यसअघि फोहोर उठाउने जिम्मा १० वटा ठेकेदार कम्पनीलाई दिइएको थियो । फोहोर व्यवस्थापनका लागि पटक पटक टेन्डर निकाल्न कार्यपालिका बैठकमै छलफल भए पनि बोलपत्र आह्वान भएको छैन । बरु वर्षेनी ठेक्का म्याद थपिँदै आएको छ ।
हाल प्रगति संसार नेपाल, पोखरा फोहोरमैला व्यवस्थापन, नेपाल पब्लिक हेल्थ एन्ड एनभारोमेन्ट फर डेभलोपमेन्ट, भद्रकाली वेष्ट म्यानेजमेन्ट, वातावरणीय सुन्दर नेपाल र वेष्ट म्यानेजमेन्ट रिसाइक्लिङ प्रालिले यहाँको फोहोर ल्यान्डफिलसम्म लैजाने जिम्मा पाएका छन् ।
फोहोरलाई आम्दानीको राम्रो श्रोत बनाउन सकिने विज्ञहरुले सुझाव दिए पनि सोहीअनुसार महानगरले व्यवस्थापन गर्न सकेको छैन । आम्दानी हुने क्षेत्रमा उल्टै खर्च गर्नुपरेको छ । ‘पोखराको फोहोर ब्यवस्थापन निकै कमजोर छ । नागरिकलाई समयमा सेवा दिन सके राम्रै आम्दानी गर्न सकिने श्रोत हो फोहोर,’ उक्त रिपोर्टमा भनिएको छ, ‘फोहोर राजश्व संकलन गर्ने निकै राम्रो श्रोत बन्न सक्छ । त्यसका लागि विस्तृत अध्ययन भएको देखिँदैन ।’
पोखराको फोहोरमा लगानी गर्नेहरू दिनहुँजसो आइरहेका छन् । तर, विभिन्न व्यक्तिको स्वार्थका कारण पुरानो ठेक्काको निरन्तरता तोडिएको छैन । आर्थिक वर्ष २०७६-७७ मा फोहोर उठाएबापत यहाँका सेवाग्राहीसँग ठेकेदारले ६ करोड ४१ लाख रकम संकलन गरेको तथ्यांक छ । त्यसको ८० प्रतिशत महानगरले ठेकेदारलाई नै फिर्ता दिन्छ । पाँच करोड १२ लाख ठेकेदारलाई दिएको छ भने एक करोड २८ लाख मात्रै महानगरले आम्दानी गरेको छ ।
२०७७-७८ मा आठ करोड ५३ लाख संकलन गरिएकोमा एक करोड ७० लाख महानगरले आम्दानी गरेको छ । पोखरामा हाल करिब एक लाख घरसंख्या छ भने ४० हजारभन्दा बढी व्यावसायिक संस्थाहरू छन् ।
फोहोर उठाउने कम्पनीको म्याद अहिलेको कार्यपालिका बैठकले पुनः ६ महिनाका लागि थपिएको छ । टेन्डरमा लगे आम्दानी बढी हुन्छ । अहिले त खर्च मात्रै भयो,’ राजश्व शाखा प्रमुख गणेश पाण्डेले भने, ‘एक-दुईपटक प्रस्ताव पनि लगेका थियौं । कार्यपालिकाले टेन्डरको निर्णय गरेको छैन ।’
सार्वजनिक निजी साझेदारी पोखराका लागि आम्दानी गर्ने क्षेत्र बनेन । केही समयअघि यहाँको फोहोरबाट विजुली निकाल्ने योजना अघि सारिएको थियो । तर अध्ययन सकेर पनि महानगरको असहयोगका कारण योजना फिर्ता गयो । न्यूजकारखाना

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया