बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

भीम रावलले संयोजकको जिम्मेवारी पूरा नगरेपछि राजीनामा दिए : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले १० बुँदे कार्यान्वयन संयोजकको जिम्मेवारी पूरा गर्न नसकेपछि कार्यदलबाट राजीनामा दिएको टिप्पणी गरेका छन् । शनिबार पार्टी कार्यालयमा आयोजित वडा अधिवेशनलाई भर्चुअल रूपमा उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘मैले संयोजन गर्न सकिनँ त्यसकरण उहाँ (रावल)ले राजीनामा दिन्छु भन्नु भएको हो,’ ओलीले भने, ‘यो त्यत्रो ठूलो कुरो पनि होइन । राजीनामा लिखित रूपमा आएको पनि छैन । यस विषयमा स्वीकार्य या अस्वीकार्य भन्ने नै छैन ।’

१० बुँदे कार्यन्वयनमा ओली प्रतिबद्ध नदेखिएको भन्दै त्यसलाई कार्यन्वयनका लागि सहजीकरण गर्न बनाइएको कार्यदलबाट रावलले शुक्रबार बसेको स्थायी कमिटी बैठकमा फरक मत राख्दै राजीनामाको घोषणा गरेका थिए । 

ओलीले १० बुँदे रचनात्मक ढंगले कार्यान्वयन हुने बताउँदै कार्यान्वयन हुन बाँकी ठाउँमा क्रमिक रूपमा कार्यान्वयन हुने स्पष्ट पारे । ‘१० बुँदे कार्यन्वयन सबैतिर भइसक्यो । केही–केही ठाउँमा रहेको भए रचनात्मक ढंगले कार्यन्वयन हुन्छ । त्यसमा समस्या छैन,’ ओलीले भने । ओलीले एमाले अब एक ढिक्का भएकाले कुनै यो वा त्यो समूह पार्टीमा नरहेको बताए ।