‘आउटडोर गार्ड रुम’मा निभिरहेको ‘दीप’

काडमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको बास मंसिर २८ को साँझदेखि डिल्लीबजार कारागारमा छ । त्यो साँझ कारागार प्रशासनले आफ्नो काम सकाएर बस्न्यातलाई आन्तरिक प्रशासनको जिम्मा लगाउँदै थियो । भित्र छिर्दै गर्दा बस्न्यातले निकै हड्बडाएको कारागारमा कार्यरत एक प्रहरी बताउँछन् ।
कारागार प्रशासनको कार्यालयबाट बन्दी गृहतर्फ छिर्दै गर्दा बिचमा ठूलो फलामे ढोका आउँछ । ती प्रहरी भन्छन्, ‘मास्क लगाइरहनु भएको थियो, एक्कासी आँखाबाट आँसु झार्नुभयो । उहाँ विस्तारै सुक-सुक गर्दै भित्र प्रवेश गर्नुभयो ।’
उनलाई सोझै अघिल्तिर रहेको भर्याङ छेउमा पुर्याइयो । जहाँ एउटा टेबल र कुर्सी राखिएको थियो । कुर्सीमा एउटा रजिस्टर समाएर भाइ नाइके बसिरहेका थिए । ती भाइ नाइकेले बस्न्यातको सम्पूर्ण विवरण टिपोट गरे ।
त्यसपछि अर्का भाइनाइकेले बस्न्यातलाई हातको इसारा गर्दै आफूतिर बोलाए । र, ती भाइनाइके अगाडि रहेको भर्याङतिर उक्लिए । भर्याङ चढ्दै गर्दा भाइनाइकेले बस्यातलाई जेलका सबै नियमबारे बताए । जेलको नियमबारे बस्यातले कुनै प्रतिक्रिया जनाएनन् ।
भर्याङतिर उक्लिएर अलिकति अघि बढेपछि आयो, दोस्रो तलाको भीआईपी कक्ष । त्यसलाई आन्तरिक वा कारागार प्रशासनले ‘आउटडोर गार्डरुम’ का नामले चिन्छ । बस्न्यातलाई त्यही गार्डरुममा राखियो ।
नयाँ कैदी-बन्दीबारे आन्तरिक प्रशासनले कारागार प्रशासनलाई हरेक दिन रिपोर्ट गर्नुपर्छ । यो काम भाइ नाइकेहरूले गर्छन् । आन्तरिक नियन्त्रण र व्यवस्थापनका अलावा भाइ नाइकेको काम भीआइपी कैदीबन्दीको दैनिकीबारे रिपोर्ट गर्नु पनि हो ।
जब कारागार प्रशासनको काम सकिन्छ, अनि सुरु हुन्छ आन्तरिक प्रशासनको काम । कैदी/बन्दीबाटै कैदी-बन्दी व्यवस्थापन गर्न कारागारले आन्तरिक प्रशासन खडा गरेको हुन्छ । आन्तरिक प्रशासनले ‘चेन अफ कमाण्ड’मा कैदी–बन्दीहरूलाई नियन्त्रण तथा व्यवस्थापन गरिरहेको हुन्छ ।
डिल्लीबजार कारागार पनि यही प्रणालीमा चलिरहेको छ । यहाँ कुनै नयाँ कैदी-बन्दी ल्याइयो भने कारागार प्रशासनले सबै विवरण राख्छ । त्यसपछि कैदीबन्दी गृहमा प्रवेश गराउँछ । कारागार प्रवेश गरेपछि आन्तरिक प्रशासनको काम सुरु हुन्छ । कारागार प्रशासन जस्तै आन्तरिक प्रशासनले पनि नयाँ कैदीबन्दीको सम्पूर्ण विवरण राखेर कैदीबन्दी गृहमा पठाउँछ ।
बस्न्यातको दैनिकीबारे पनि आन्तरिक प्रशासनले कारागार प्रशासनलाई केही रिपोर्ट गरेको छ । कारागार प्रशासनलाई भाइ नाइकेले बुझाएको रिपोर्ट अनुसार, उनी अत्यन्त निरास छन् । उनी कारागारका अरुसँग गफगाफ गर्दैनन् । कारागार कर्मचारी र सुरक्षाकर्मीसँग कहिलेकाहीँ कुरा गर्छन् । त्यो गफमा बस्न्यात अदालतप्रति गुनासो मात्रै गर्छन् । उनको गुनासोलाई उध्दृत गर्दै एक प्रहरी अधिकारी भन्छन्, ‘समाजसेवी मान्छेलाई यत्तिकै फँसाइयो, मैले केही गरेको छैन । अदालतले मलाई त्यत्तिकै यहाँ पठायो ।’
बस्न्यातमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा लगाएको छ । बस्न्यातमाथि मन्त्रिपरिषद्बाट भौतिक योजना सचिव हुँदा प्रधानमन्त्री निवास र ललिता निवासको जग्गा मोहीका नाममा गराएको अभियोग छ ।
विशेष अदालतले अख्तियारको ‘दाबी बमोजिम हुन सक्ने दण्ड र सजायलाई समेत दृष्टिगत गर्दै बस्न्यातलाई थुनामै राख्ने’ आदेश गरेको हो । आदेशसँगै डिल्लीबजार कारागारका थुनुवा बन्न पठाइएको छ ।
बिहान उठेपछि सबैभन्दा पहिला बस्न्यात कसरत गर्छन् । उनी बिहानको आठ बजेतिर खाजाको रूपमा मकै वा रोटी खान्छन् । त्यसपछि साढे ११ बजे बिहानको खाना खान्छन् । कारागारभित्र सानो हिँड्ने ठाउँ छ । बेलुकी पख बस्न्यात त्यही केही चक्कर लगाउने गरेको कारागार प्रशासन बताउँछ । उनी बाहिरबाट आएका मान्छेसँग भेटघाट गर्नुपरे मात्र दिउँसो बाहिर निस्किन्छन् ।
बस्न्यातले घरबाट केही ल्याएका छैनन् । टीभी, कुर्सी टेबल बन्दोबस्तीका सामान कारागारबाटै पाएका छन् । उनले खाना पकाउने, लुगा धुने र सरसफाइ गर्ने सहयोगीसमेत पाएका छन् । कारागारभित्र उनको सबै काम तिनै सहयोगीले गर्छन् । कारागार प्रशासनका अनुसार, डिल्लीबजार कारागारभित्र सबैभन्दा गतिलो भीआइपी ठाँटमा बस्ने कैदीबन्दी सांसद् रेशम चौधरी र बस्यात छन् ।
बस्न्यातले पाएको सुविधाबारे एक सुरक्षाकर्मी भन्छन्, ‘उहाँको कोठामा सुनको जलप लगाएको सोफा छैन होला, त्यो बाहेक घरमा हुनुपर्ने सबै बन्दोबस्तीका सामान छन् ।’

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

प्रतिक्रिया