आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

भारतमा कोरोना संक्रमित हुनेको संख्या एक करोड नाघ्यो

काठमाडौं : भारतमा कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणमा पर्नेको संख्या शनिबार एक करोड नाघेको छ । रोयटर्सका अनुसार भारतमा मास्कको प्रयोग र भौतिक दुरी कायम गर्नमा चासो घट्दै गएपनि संक्रमणमा पर्नेको संख्या अनुमान गरिए अनुसारले बढेको छैन् ।

भारतमा मध्य सेप्टेम्बरमा दैनिक करिब ९८ हजार मानिस कोरोनाबाट संक्रमण हुँदै आएका थिए । तर डिसेम्बरमा भने सरदरमा दैनिक ३० हजारमा मात्रै कोरोना संक्रमण देखिदै आएको बताईएको छ । त्यसकारण कोरोना संक्रमितको सर्वाधिकको संख्या रहेको अमेरिका र भारतको दुरी बढ्दै गएको छ । अमेरिकामा हालसम्म एक करोड ७५ लाख नागरिक कोरेनाबाट संक्रमित भइसकेका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार एक सय ५२ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने तीन सय ४७ को मृत्य भएको छ । भारतमा कोरेनाका कारण एक लाख ४५ हजार एक सय ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट सर्वाधिक प्रभावित हुने मुलुकको सूचीमा दास्रो स्थानमा रहेको भारतले खोप वितरणका लागि गृहकार्य गरिरहेको छ । फाइजर, अक्सफोर्ड र स्थानिय भारत बायोटेकले विकास गरेको खोपलाई भारतीय संक्रमितलाई लगाईने रायटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । यसैबीच, भारतमा अधिकांश कोरोना संक्रमितमा ‘एन्टीबडी’ को विकास भइसकेको भनाई स्वास्थ्य विज्ञहरुले राखिरहेका छन् ।

भारतमा कुल जनसंख्याको ६० प्रतिशत कोरोनाबाट संक्रमित भएको अनुमान छ । भारतीय सरकारले कोरोनाका विषयमा अनुसन्धान गर्न गठन गरेको कार्यदलले यस्तो अनुमान गरेको हो ।