बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

बजारमा नेपाल राष्ट्र बैंकको अविवेकी हस्तक्षेप

मुद्दती निक्षेपमा बैंकको ब्याजदरको तुलनात्मक स्थिति

काठमाडौँ– बैंकलाई सामान्य परिभाषा गर्दा भनिन्छ, ‘ब्यांक बरोज् टु लेन्ड’ अर्थात् बैंकले लगानी गर्नका लागि निक्षेप उठाउँछ । खुला बजार अर्थ व्यवस्थामा ब्यांकको बरोइङ (सापटी) र लेन्डीङ (कर्जा लगानी) को दर बजारले तय गर्छ । तर, अहिले सरकार र राष्ट्र बैंकको अविवेकी निर्णयका कारण बजारले राम्ररी काम गर्न सकेको छैन । 

प्रायः दसैंमा हुने घरयासी उपभोगले ठूलो परिमाणमा रकम बजारमा आउँछ । दसैं, तिहार तथा छठ लगातार पर्ने तीनओटा ठूला पर्वमा गरी कुल गार्हस्थ उपभोगको एक तिहाई उपभोग हुने अनुमान गरिन्छ । बजारमा ठूलो पुँजी प्रवाह हुने भएकाले दसैंलगत्तै तरलता संकटको अवस्था सामान्यतः कल्पना गरिदैंन । किनकी असारमा सरकारको ठूलो परिमाणमा खर्च हुने हुँदा बैंकहरूको आक्रामक कर्जा लगानी पहिलो त्रैमास (साउन–असोज) मा हुन्छ । पहिलो त्रैमासमा सरकारी खर्च बढेर बैंकमा आउने निक्षेपले थेग्ने हुँदा साउन–असोजमा निक्षेपको ब्याजदर धेरै माथि जाँदैन । 

कात्तिकदेखि ऋण विस्तारका लागि निक्षेप आकर्षण गर्न बैंकहरूले ब्याजदर केही माथि लैजाने चलन देखिन्छ । यसमा निक्षेपकर्ताले पनि लाभ पाउँछन्, केही महँगो निक्षेप लिनुपर्ने भएपछि ऋणको ब्याज पनि माथि जान्छ । यो जान्दाजान्दै नेपाल राष्ट्र बैंकले दसैँ लगत्तै ११ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठायो । जसको कारण केही बैंकलाई तरलताको अभाव भयो, उनीहरूले निक्षेपको ब्याज बढाए । तरलताको समस्या नभएकाले घटाएका पनि छन् ।

मूलतः सरकारको बजेट कार्यान्वयनमा देखिने अक्षमताको भार यतिबेला नेपाल राष्ट्र बैंकले उठाउन खोजेको देखिन्छ । 

बजारमा प्रतिस्पर्धा स्वभाविक हो । यसमा राष्ट्र बैंकले निर्मम हस्तक्षेप गरेको छ । एकातिर पहिलो त्रैमासमा सरकारको खर्च अत्यन्त न्यून छ । अनि सरकारले राजस्व र आन्तरिक ऋणमार्फत् बजारबाट पैसा सोसिरहेको छ । उठाएको पैसा खर्च नगरेपछि राष्ट्र बैंकको हस्तक्षेपले मात्र बजार सहि ट्रयाकमा जान सक्दैन, बरु उल्टै यसले नेपाल राष्ट्र बैंकको अविवेकी हस्तक्षेपलाई उजागर गरेको छ ।उदाहरण हेरौं, साउनदेखि असोजम्म अर्थात् पहिलो त्रैमासमा सरकारले राजस्व र अन्य असुलीमार्फत् झण्डै २ खर्ब ७८ अर्ब रुपैयाँ उठाएको छ भने जम्माजम्मी बजेट खर्च २ खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछि हरेक महिना १०–१० प्रतिशत पुँजीगत खर्च गर्ने भनिएकोमा पहिलो तीन महिनामा लक्ष्यको एक तिहाईमात्र अर्थात् ३.४ प्रतिशत विकास खर्च भएको छ । यो दयनीय अवस्था हो । मूलतः सरकारको बजेट कार्यान्वयनमा देखिने अक्षमताको भार यतिबेला नेपाल राष्ट्र बैंकले उठाउन खोजेको देखिन्छ । एकातिर सरकारले खर्च गर्न सकिरहेको छैन, अर्कोतिर आन्तरिक ऋण अहिले नै उठाइहाल्ने काम पनि त्यत्ति संगतिपूर्ण भएन र निजी क्षेत्रमा ‘क्राउडिङ्ग–आउट इफेक्ट’ देखापर्‍यो । 

नेपाल राष्ट्र बैंकले तोकेको आदर्श ब्याजदर कति हो ? राष्ट्र बैंकको तीन बुँदे निर्देशन आफैंमा हाँस्यास्पद छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकको निर्देशन खास बैंक तथा वित्तीय संस्था लक्षित देखिन्छ । अघिल्लो महिना प्रकाशित ब्याजभन्दा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न पाउने व्यवस्थाले ब्यादर घट्ने वा बढ्ने क्रमलाई निश्चित सीमाभित्र राखिदिएको छ । यसले गर्दा जुन बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए, उनीहरूले कर्जाको ब्याजदर घटाउन दबाब रहेन । अर्थात्, बजारलाई प्रतिस्पर्धामा भन्दा पनि कार्टेलिङमा चलाउने वातावरणलाई राष्ट्र बैंक आफैंले पश्रय दिएको छ । यसले बैंकहरूलाई कार्यदक्षता वृद्धि गर्ने, सेवामा प्रभावकारिता ल्याउने र प्रतिस्पर्धा गर्ने ठाउँ (रुम) को सर्वथा अभाव गराइएको छ । 

राष्ट्र बैंक भन्छ– संस्थागत निक्षेपकर्ताले पाउनेभन्दा सर्वसाधरणलाई एक प्रतिशत बिन्दूमात्र बढी ब्याज दिए हुन्छ । बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाको लाभ निक्षेपकर्ताले किन नपाउने ? सञ्चयकोष, नागरिक लगानी कोष या सेना/प्रहरीका कल्याण कोष या अन्य संस्थागत फण्डहरूको तुलनामा सर्वसाधरणले पाउने ब्याजदर बढी हुनपर्छ । अधिकांश समय त निक्षेपकर्ताले मुद्रास्फिति बराबर पनि ब्याज पाउँदैनन्, बैंकमा राखेको उनीहरूको पैसा खिइरहेको हुन्छ । फेरि राष्ट्र बैंकको काम निक्षेपकर्ताको हित हेर्ने, वित्तीय क्षेत्रप्रति उनीहरूको भरोसा अभिवृद्धि गर्ने पनि हो । यो पाटोलाई राष्ट्र बैंकले भुलेको छ । बजारमा प्रतिस्पर्धा बढेर सर्वसाधरण निक्षेपकर्ताले लाभ पाउँछन् भने यसमा राष्ट्र बैंकलाई आपत्ति किन हुने हो, बढाएको निक्षेप र कर्जाको ब्याज तीन दिनभित्र घटाउनू भन्ने नेपाल राष्ट्र बैंकका गभर्नरले सर्वसाधरणलाई जवाफ दिनुपर्छ । 

धेरैजसो व्यवसाय निजी (प्राइभेट लिमिटेड) छन्, तिनको व्यवसायको 'इफिसियन्सी' (कार्यदक्षता) के छ, प्रतिफल कति छ;  लिएको ऋण सही ठाउँमा लगानी गरेका छन् कि छैनन् भनेर राष्ट्र बैंकले कहिल्यै अध्ययन गरेको छ र ? उनीहरूले कर्जाको ब्याजदर वा कर/भन्सारमा पाएकाे प्राेत्साहन उपभोक्ता मूल्य र वस्तु वा सेवाको गुणस्तरमा प्रतिबिम्बित भएकाे छ र ?

कर्जाको ब्याजदर बढ्दा लगानीको वातावरणमा असर पर्छ भनिन्छ । हिजो सस्तो ब्याजदर हुँदा सेयर बजारमा एक खर्ब रुपैँया ऋण परिचालन भएको थियो, त्यसबाट जसले लाभ पाए आज तिनको कर्जाको ब्याज बढ्दा सर्वसाधरणको निक्षेपबाट भरणपोषण गर्नुपर्ने हो र ? अर्कोतर्फ, धेरैजसो व्यवसाय निजी (प्राइभेट लिमिटेड) छन्, तिनको व्यवसायको 'इफिसियन्सी' (कार्यदक्षता) के छ, प्रतिफल कति छ;  लिएको ऋण सही ठाउँमा लगानी गरेका छन् कि छैनन् भनेर राष्ट्र बैंकले कहिल्यै अध्ययन गरेको छ र ?  उनीहरूले कर्जाको ब्याजदर वा कर/भन्सारमा पाएकाे प्राेत्साहन उपभोक्ता मूल्य र वस्तु वा सेवाको गुणस्तरमा प्रतिबिम्बित भएकाे छ र ? अनि जताबाट पनि चुसिनुपर्नेचाहि‌ं सर्वसाधरण मात्र हुन् त ? गएको आर्थिक वर्षको अन्त्यसम्म कृषिमा ३ खर्ब ३० अर्ब बैंकिङ्ग क्षेत्रको कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ, उल्टै कृषि वस्तुको आयात बढीरहेको छ । कृषिजन्य वस्तुको आयातमात्रै एक आर्थिक वर्षमा ३ खर्ब २३ अर्ब रुपैयाँ छ, एक वर्षमा चामल मात्र ५० अर्ब रुपैयाँको आयात भइरहेको छ । परिचालन भएको ऋणको प्रभाव उत्पादन र रोजगारीमा देखिनुपर्ने होइन र ? 

सञ्चयकोष, नागरिक लगानी कोष या सेना/प्रहरीका कल्याण कोष या अन्य संस्थागत फण्डहरूको पैसा बैंकमा राखेर ब्याज खाने होइन, लगानी गर्नुपर्ने हो । उनीहरूले लगानी नगरेर बैंकमा मुद्दती निक्षेपको दरमा बार्गेनिङ गरेर लाभ लिइरहेका हुन्छन् । यस्ता संस्थागत फण्डहरूलाई कम ब्याजदर दिने व्यवस्थाले मात्र उनीहरू लगानीका लागि प्रोत्साहीत हुन्छन् । यसमा राष्ट्र बैंकले र सरकारले यथोचित ध्यान दिएको देखिएन ।