जलमग्न जनकपुरधाम, बाढीमा डुब्यो धान
जनकपुरधाम - सोमबार रातिदेखि निरन्तर भइरहेको मूसलाधारे वर्षाले प्रदेश २ को अस्थायी राजधानी जलमग्न भएको छ । वर्षाले काटिएको धान डुब्दा जिल्लाका किसानहरु चिन्तित भएका छन् ।
हावासंगै निरन्तर भइरहेको वर्षाले गर्दा धनुषा जिल्लाका उत्तरी भेगका सयौँ विघामा लगाएर काटिएको धान भित्र्याउन नसक्दा खेतमै डुबेको छ । वर्षासँगै चलेको हावाले गर्दा जिल्लाका अधिकांश क्षेत्रमा लगाइएका धान जमिनमा खस्दा खराब हुने सम्भावना बढ्दा किसानहरु चिन्तित भएका छन् ।
जिल्लामा कुल ५८ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । यस भेगमा ढिलो गरी धान रोपाई हुने गरेको कारण अहिले ती धानहरु काट्ने बेला नभएपनि केही प्रतिशत धान काटेर खेतमा राखिएको थियो । तर त्यो धान भित्र्याउन नसक्दा खेतमै डुबेको छ ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले भने, ‘अहिले धान काट्ने बेला नभएको कारण हिजो रातिदेखि भइरहेको निरन्तर वर्षाले खासै असर नपरेपनि हावाले गर्दा खेतमा लगाइएका धान जमिन खस्दा पानीमा परेर सड्न सक्ने सम्भावनाले बढी क्षति पुर्याउने हो ।’
बाढीले धनुषामा १० प्रतिशतभन्दा बढी धानबाली क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । खेतमा काटिएका धानभन्दा पनि बढी क्षति हावाले गर्दा भएको कृषि अधिकारीहरुको भनाई छ । धनुषामा खासगरी किसानहरुले बासमती, सोना मन्सुली लगायतका धान किसानहरुले लगाउँदै आएका छन् ।
यता निरन्तर वर्षाले गर्दा प्रदेश राजधानी जनकपुरधाम जलमग्न भएको छ । वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडा जलमग्न छन् भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भएको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नहुँदा पानीको निकास हुन नसक्दा नगरका सडक सहित सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन् ।
वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, जनकपुरको प्रमुखचौक रामानन्दद्वार (चौक), मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएका छन् । यस्तै नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत प्रभावित भएको छ ।
पानीको निकास हुन नसक्दा वर्षातको पानीले जनकपुरधामको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरलीचोकदेखि विश्वकर्मा चोक, कदमचोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न छन् ।
जनकपुरमा खाल्डाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन हुन नसक्दा सडक, कार्यालयका साथै नगरका विभिन्न वडाका घरहरुमा समेत पानी पसेको छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया