कञ्चनजंघा क्षेत्रमा निरन्तरको वर्षाले पर्यटक अलपत्र
फुङलिङ - ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु वर्षाका कारण अलपत्र परेका छन् । तीन दिनदेखि निरन्तर परेको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरु बाटोमै अलपत्र परेका हुन् ।
आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिएपनि त्यसयता वर्षा अविरल भइरहेको छ । अहिलेको अविरल तथा निरन्तरको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् । कञ्चनजङ्घा हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताए । उनका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् ।
विदेशी पर्यटकमा अमेरिका, फ्रान्सलगायतका ११ जना रहेका छन् भने आन्तरिकमा झापा, काठमाडौँलगायत विभिन्न जिल्लाका पर्यटकहरु रहेका छन् । त्यस्तै कञ्चनजङ्घा आधार शिविर गएका विदेशीसहित १६ जना पर्यटक उतै रोकिएको पनि शेर्पाले जानकारी दिए ।
उक्त पर्यटकको टोली साता दिनअघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले सो क्षेत्रमै रोकिएका छन् ।
यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक वर्षाका कारण ओलाङ्चुङगोलामा रोकिएका छन् । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार विदेशीसहितको उक्त टोली निरन्तरको वर्षाका कारण सोमबारदेखि रोकिएका हुन् ।
हाल तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताए । अहिले वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी रहेको र तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा बस्तीसम्म नै हिउँ पर्ने सम्भावना बढेको पनि शेर्पाले बताए ।
त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमा पनि बुधबारसम्म नै वर्षा नरोकिए हिमपात हुनसक्ने स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सा गाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया