चितवन राष्ट्रिय निकुञ्जमा बाघको चहलपहल बढ्यो

चितवन - मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट नियाल्ने अवसर पाए ।
उनीसँगै उक्त जिपमा रहेका अरुले पनि यो अवसर प्राप्त गरे । एकसिङ्गे गैँडाका लागि प्रख्यात निकुञ्जमा भाग्यमानीले मात्रै बाघ देख्न पाउने भए पनि यतिबेला निकुञ्ज घुम्न जाने धेरैले बाघ देखेको बताउने गरेका छन् ।
उनले भने, “अहिले निकुञ्ज घुम्न जाने धेरैले बाघ देख्ने अवसर पाउँछन् ।” विगतको भन्दा बाघको चहलपहल अहिले बढेको उनको भनाइ छ । निकुञ्जभित्र पर्यटकीय जिपका चालक वीरजङ्ग मुसहरले दसैँको बेला एकै दिन दुई ठाउँमा बाघ देखेको बताए ।
असोज २८ गते आफू र जिपमा रहेका पर्यटकले भिम्ले पोष्ट नजिकैको नन्दभाउजु तालमा पानी खान जाँदै गरेको बाघ देखेको बताए । त्यसै दिन रानीखोलाको बीच बाटोमा पनि बाघ देखिएको उनले जानकारी दिए । उनले भने, “तीन÷चार वटा जिपमा रहेका पर्यटकले बाघ देख्न पाउनुभयो ।” निकुञ्जभित्र झाँडी र गर्मी बढेकाले बाघ खुल्ला ठाउँमा आएको उनको भनाइ छ । विगत १९ वर्षदेखि निकुञ्जमा जिप चलाउँदै आउनुभएका मुसहरले यतिबेला बाघ हेर्ने राम्रो अवसर भएको बताए ।
सौराहा नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा गत महिना एक व्यक्तिलाई बाघले खाएपछि समाउने क्रममा राखिएको क्यामराको ट्यापिङमा पाँच वटा बाघ देखिएका थिए । वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले मानिस खाने बाघ समाएपछि पनि घुम्न जानेहरुले बाघ देख्ने गरेको बताएको जानकारी दिए । उनले भने, “हात्तीमा घुम्न जानेले बाघ देखेको बताएका छन् ।” उच्च सावधानी अपनाएर घुम्न वनले अनुरोध गरेको छ । सो वनमा जिप र हात्तीमा सफारी गर्ने गरिन्छ । पैदलरुपमा पनि पर्यटक वन र निकुञ्जमा घुम्ने गर्दछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले केही दिनयता बाघ देखिएको जानकारी आफूलाई प्राप्त भएको बताए ।
दसैँ अगाडि माडी जाने निकुञ्जभित्रको हुलाकी सडकमा मानिसले तीन÷चार वटा बाघ देखेको जनाएपछि हिँड्डुल गर्नेलाई सावधानी अपनाउन भनिएको छ । केही दिन धेरै सवारी जम्मा भएपछिसँगै वारपार गराइएको पनि उनले बताए । निकुञ्जमा सन् २०१८ मा गणना गर्दा २३५ बाघ भेटिएको थियो । तीमध्ये यस निकुञ्जमा मात्रै ९३ वटा बयस्क बाघ भेटिएका थिए । गणनापछि बाघको सङ्ख्या बढेको हुनसक्ने यसले देखाएको छ ।
लामो समयपछि निकुञ्ज खुलेका कारण वन्यजन्तुको चहलपहल पनि पर्यटकीय मार्गमा बढी देखिएको हो । निकुञ्जभित्र झाडी भएकाले बाटो नजिक मात्रै वन्यजन्तु देखिने गरेको छ । अबको एक महिनामा टाढाटाढासम्म खुल्ला हुने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए ।
यस निकुञ्जमा मुख्य रुपमा एकसिङ्गे गैँडा हेर्न पर्यटक आउने गर्दछन् । पछिल्लो समय बाघ बढी सङ्ख्यामा देखिन थालेको हो । यससँग चितुवा, भालु, हरिण, गौरीगाई, चित्तल, गोही, बँदेललगायतका जनावरसँगै चराचुरुङ्गी हेर्न यहाँ पर्यटक आउने गर्दछन् । रासस

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_pJExrpSsMG_chhi0fg3yd6nlrtdd401hqcrfz8udlnltmrmxyspnjnriavs1jfwft5zh5hr.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

प्रतिक्रिया