सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

एडीबीले सन् २०३० सम्म जलवायु सम्बन्धी लगानी १०० अर्ब डलर पुर्‍याउने

काठमाडौँ– बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंक (एडीबी)ले सन् २०१९ देखि सन् २०३० को बीचमा विकासशील देशमा जलवायु सम्बन्धी लगानी १०० अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ । 

एडीबीका अध्यक्ष मासात्सुगु आशाकावाले एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तनको लडाइँमा गर या मरको स्थिति भएको भन्दै गहिरिदों जलवायु संकटले धेरैलाई जलवायु परिवर्तनमा लगानी बढाउन अपिल गर्नुपर्ने स्थिति आएको बताएका छन् । ‘हामीले जलवायु परिवर्तन विरुद्धको लडाइँमा हाम्रो आफ्नै सञ्चित जलवायु सम्बन्धी लगानी स्रोतबाट सन् २०३० सम्म १०० अर्ब अमेरिकी डलर लगानी गर्ने निर्णय गरेका छौं,’ आशाकावाले भनेका छन् । 

सन् २०१८ मा एडीबीले यसेको ७५ प्रतिशत जलवायु प्रतिकार्य सम्बन्धी अपरेसन सहयोग र उसको आफ्नै जलवायु सम्बन्धी लगानी स्रोतबाट स्न २०३० सम्म कुल ८० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको थियो । नयाँ घोषणाले लगानीको महत्वाकांक्षा बढाइदिएको छ । 

एडीबीले अहिलेसम्मको सञ्चित लगानी सन् २०१९ देखि सन् २०२१ सम्म १७ अर्ब अमेरिकी डलर रहेको बताएको छ । जलवायु सम्बन्धी लगानीको महत्वकांक्षी लक्ष्यले एडीबीले यसका विकासशील सदस्य राष्ट्रलाई थप सहयोग प्रदान गर्न सक्नेछ । कोभिड–१९ महामारी र जलवायु संकटबीच आपसमा अन्तरसम्बन्धित चुनौतीहरूको समाधानका लागि सदस्य राष्ट्रहरूलाई हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि साहसी निर्णय लिनका लागि सहयोगी हुने बताइएको छ । 

एडीबीको २० अर्ब अमेरिकी डलरको नयाँ घोषणा सहितको सय अर्ब डलर निम्न पाँच क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । यसमा जलवायु परिवर्तन न्यूनीकरणका कार्यहरूलाई प्राथमिकता दिइएको छ । जसमा उर्जा भण्डारण, उर्जा दक्षता, न्यून–कार्बन उत्सर्जन गर्ने यातायातलाई प्राथमिकता दिदैं एडीबीले जलवायु परिवर्तन न्यूनीकरण कार्यका लागि सन् २०३० सम्म ६६ अर्ब अमेरिकी डलर खर्च गर्नेछ । 

त्यस्तै, सहरी विकास, कृषि, पानी आपूर्ति लगायत जलवायु अनुकुलनमा आधारित रूपान्तरणकारी परियोजनाहरूमार्फत् विकसित खालको उत्थानशीलताको अभ्यास गरिने भएको छ । एडीबीले अनुकुलनमा आधारित परियोजना र लक्षित उपलब्धि हासिल गर्नका लागि ३४ अर्ब अमेरिकी डलर लगानी गर्दैछ । 

एडीबीले निजी क्षेत्रतर्फको अपरेसनमा जलवायु परिवर्तनसम्बन्धी लगानी बढाइने जनाइएको छ । एडीबी र निजी लगानीकर्ताबीचको साझेदारीमा सम्भाव्य थुप्रै परियोजनाहरूमा लगानी गरिने भएको छ । सञ्चालन दक्षता, बजारको मागमा आधारित रहेर महामारीपछिको पुनरूत्थान तथा नयाँ प्रविधि र नवप्रर्वतन प्रवद्र्धनमार्फत् जलवायु सम्बन्धी लगानीलाई प्रभावकारी  बनाउने एडीबीले उल्लेख गरेको छ । एडीबीले निजी क्षेत्रतर्फको जलवायु सम्बन्धी लगानीलाई पनि आफ्नै स्रोतबाट १२ अर्ब र क्राउडीङ (अन्यबाट स्रोत खोजेर) थप १८ अर्ब अमेरिकी डलर गरी ३० अर्ब अमेरिकी डलर पुर्‍याउने आकांक्षा राखेको छ । 

कोभिड–१९ महामारी र जलवायु संकटबीच आपसमा अन्तरसम्बन्धित चुनौतीहरूको समाधानका लागि सदस्य राष्ट्रहरूलाई हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि आशियान क्याटालिटीक ग्रीन फाइनान्स फेसेलिटी र ग्रीन रिकोभरी प्लेटफर्ममार्फत निजी क्षेत्रले पुँजी बजारबाट स्रोत परिचालन गरी न्यून कार्बनमा आधारित पूर्वाधार विकास गर्ने एडीबीको विश्वास छ । एडीबीले यसका सदस्य विकाशील राष्ट्रहरूलाई नीतिमा आधरित सहयोग जारी राख्दै संस्थाहरूलाई पनि जलवायु परिवर्तन न्यूनीकरण र उत्थानशीलता विकासका लागि तयार गर्ने उल्लेख गरेको छ ।