खर्च बढाउन अर्थमन्त्रीको सर्त : निर्माणको काम दुई सिफ्टमा गर्नुपर्ने
सीमित व्यवसायीलाई ७० प्रतिशत आयोजना सुम्पिने काम भयो : उपाध्यक्ष पौडेल

काठमाडौँ - सार्वजनिक निर्माणको काम दिउँसो र रात गरी दुई सिफ्टमा सञ्चालन गर्न अर्थमन्त्री जनार्दन शर्माले सर्त अघि सारेका छन् । बजेट कार्यान्वयनका विषयमा आइतबार राष्ट्रिय योजना आयोगसँगको छलफलमा उनले यस्तो सर्त राखेका हुन् । छलफलमा अर्थमन्त्री शर्माले सार्वजनिक निर्माण कार्यको ठेक्का सम्बन्धी कागजातमा दिउँसो र राति गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताए ।
‘दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ उनले भने, ‘राती सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्यो, हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्यो ।’
निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरु अलपत्र परेको भन्दै उनले अब यसलाई पनि कानुन सच्याउने तयारी रहेको जानकारी दिए । यस्तै मन्त्री शर्माले आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले निर्माण व्यवसायीको वास्तविक क्षमता जाँचेर मात्र ठेक्का दिने प्रणाली बसाल्नुपर्नेमा जोड दिए । सीमित निर्माण व्यवसायीको हातमा मात्र ७० प्रतिशत आयोजनाहरु सुम्पने प्रचलनको अन्त्य नगरेसम्म विकासले गति नलिने उनको धारणा छ । ‘भएभरका आयोजनाहरु सीमित ठेकेदारहरुको हातमा सुम्पने, उनीहरुले सरकारलाई समेत नटर्ने, वर्षौंसम्म आयोजनाहरू नबनाएर बस्ने, अनि कसरी बढ्छ त पुँजीगत खर्च ?’ उनले भने । यस्तै डा. पौडेलले मुलुकको राजस्वमा योगदान गर्न नसक्ने सार्वजनिक संस्थानहरुको औचित्यमा प्रश्न उठाए ।
बन्द उद्योग चलाउने
मन्त्री शर्माले हाल बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरु सञ्चालन गर्ने गरी तयारी भैरहेको जानकारी समेत दिए । धागो उद्योग, कपडा उद्योग, रबर उद्योग, चुरोट कारखानालगायतका बन्द अवस्थाका उद्योगहरु नयाँ मोडालिटी बनाएर सञ्चालन गरिने उनले बताए ।
‘पढ्दै कमाउदै’ कार्यक्रम प्राविधिक विधाका विद्यालयहरुमा सुरु गर्ने, सहकारीले कम्पनी खोलेर लगानीको ५० प्रतिशत उत्पादनको क्षेत्रमा लगाउने जस्ता कार्यक्रमहरु तत्काल सुरु गर्ने गरी प्रक्रिया अघि बढाउन आवश्यक सहजीकरण गर्न निर्देशन दिए ।
यस्तै श्रम सहकारीहरुमार्फत १० करोडसम्मको सार्वजनिक निर्माणको कार्य गर्न पाउने कार्यविधि चाँडै टुंगो लगाएर काम सुरु गरिने उनले बताए । यसबाट देशमा थप ५ लाख रोजगारी सृजना हुने अर्थमन्त्रीको अनुमान छ । उपभोक्ता समितिहरुबाट गर्नुभन्दा श्रम सहकारीहरुबाट यस्तो काम गर्नु संस्थागत हुने र वास्तविक श्रमिकहरु लाभान्वित हुने उनको भनाइ छ ।

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन, अपार्टमेन्टमा पनि इन्सुलेशनकाे लाग…

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

एकतिस वर्षपछि महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

प्रतिक्रिया