प्रिय दसैँ

प्रिय दसैँ
तिम्रो आगमनसँगै
मलाई पर्खिंदै होलान्
मेरो खेतका
कलिला धानहरू
त्यसरी नै त्यहाँ
लडिबुडी खेल्दै हुर्कंदै
जसरी म त्यहाँ
लडिबुडी खेल्दै हुर्किंएँ
मलाई पर्खिंदै होलान्
मेरी अशक्त आमाका
थरथर कामिरहेका हात
जसको आशिषबाट
मेरो वर्षौंदेखिको थकाइ मेटिनेछ
मेरी श्रीमतीको रसिलो ओठ
जसको चुम्बनबाट
मेरो वर्षौंदेखिको प्यास मेटिनेछ
उसको हाँसो
जसबाट
मेरो वर्षौंदेखिको आँसु पुछिनेछ
मेरी छोरीको स्पर्श
जसबाट
मेरो वर्षौंदेखिको सङ्घर्ष मेटिनेछ
मेरा ईष्टमित्रका पाखुरा
जसको अंकमालबाट
मेरो वर्षौंदेखिको एक्लोपन मेटिने छ
र, चौकनिरको पुरानो पीपलको रुख
जुन रुखको छहारीबाट
मेरो वर्षौंदेखिको डढेको ढाड सेकिनेछ
प्रिय दसैँ
मलाई पर्खिंदै होलान्
त्यो चुँडिएको पिङको डोरी
जो सँगसँगै म पनि चुडिएँ
त्यो उडेको चङ्गा
जो सँगसँगै म पनि उडेँ
त्यो जुट नमिलेर अलपत्र परेका
तासको पत्तीहरू
जो सँगसँगै म पनि अलपत्र परेँ
त्यो दोबाटोमा फुलिरहेका
गोदावरी, मखमली, सयपत्री फूलहरू
जसले मेरो बिदाइमा आँसु खसालेका थिए
त्यो कोइली, डाँफे, मुनाल, काग चराहरू
जो मसँगसँगै उड्न खोजेका थिए
र,
पर्खिंदै होलान्
मलाई मेरै ‘म’ ।
प्रिय दसैँ
यी पर्खाइहरू व्यर्थ जाने छैनन्
म फर्किनेछु
तर थाहा छैन मलाई कि
म बाकस लिएर फर्किने छु
या, म बाकसमा फर्किने छु ।
प्रतिक्रिया