कांग्रेस अधिवेशन: कतै कछुवा गति, अधिकांश हात्तीको चालमा, थोरै स्थानमा खरायो दाैड

काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतका अधिवेशन गरिरहेको छ । गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसका जिल्ला, पालिकाका अधिवेशन भइरहेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच सय २० पालिकाको अधिवेशन सम्पन्न भएको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका १० जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने बाजुरा र बझाङमा आज जिल्ला अधिवेशन भइरहेको छ ।
बाजुरामा अधिवेशन भइरहेको हो भने बझाङमा सभापतिमा दोस्रो चरणको अधिवेशन भइरहेको छ । दोस्रो चरणमा संस्थापनबाट कविराज पण्डित र सस्थापन इतरबाट रामबहादुर रावलबीच प्रतिष्पर्धा भइरहेको छ ।
हिमाली २१ जिल्लाको अधिवेशन दसैं अगाडि सक्ने निर्णय कांग्रेसको निर्वाचन समितिले गरेको थियो । आफूहरूको घोषणा अनुरुपका जिल्लाको अधिवेशन सक्ने तयारीमा लागिरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘दसैं अगाडि एउटा प्रतिनिधि सभा क्षेत्र भएका हिमाली २१ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेका थियौं । त्यो अनुरुप काम भइरहेको छ,’ सदस्य घिमिरेले भने ।
उनका अनुसार अहिलेसम्म दोलखा, रामेछाप, हुम्ला ताप्लेजुङ, संखुवासभा, गोरखा, मनाङ, मुस्ताङ, कालिकोट र मुगुको अधिवेशन सकिएको छ । बझाङ र बाजुरामा आज सकिएपछि १२ जिल्लाको अधिवेशन सकिन्छ । निर्णय भएका बाँकी नौ जिल्लामा पनि अधिवेशन गर्ने प्रयास भइरहेको उनले बताए ।
दसैं अगाडि सम्भव नभए दसैं र तिहारको बीचमा ती जिल्लामा जसरी भए पनि अधिवेशन सक्ने तयारीमा आफूहरू रहेको उनले बताए । ‘यी जिल्लामा हामीले सकभर दसैं अगाडि नभए दसैं र तिहारको बीचमा जसरी पनि अधिवेशन सक्छौं ।’
अरु जिल्लामा कसरी अगाडि बढ्ने भन्ने विषयमा शुक्रबार केन्द्रीय निर्वाचन समितिको बैठक बस्दैछ । निर्वाचन समितिले विवादका कारण अधिवेशन हुन नसकेका र क्रियाशील सदस्यता फाइनल नभएका जिल्लाबारे निर्णय लिन पार्टी पदाधिकारी र एक पटक केन्द्रीय समिति बैठक पनि बस्नुपर्ने माग गरेको छ । त्यसबारेमा नेताहरूले ठोस जवाफ नदिएको समितिका एक सदस्यले बताए ।
केही जिल्लाको क्रियाशील सदस्यताको लिष्ट नै पार्टीले निर्वाचन समितिलाई दिएको छैन भने केही जिल्लामा सदस्यता दिए पनि विवाद छ । सदस्य घिमिरेका अनुसार कांग्रेसले रौतहट बारा र रसुवाको फाइल निर्वाचन समितिलाई दिएको छैन ।
नतिजा आएकामा कुन पक्ष हावी भन्नेमा आ–आफ्ना दाबी
नतिजा आएका १० जिल्लामा जितेका सभापति संस्थापनका ५ र संस्थापन इतरका ५ छन् । तर संस्थापन इतर पक्षले आफ्नो पक्षका ६ सभापतिले जितेको तथ्यांक राखेको छ । इकागजले निर्वाचन भएका जिल्लाका नेताहरूलाई सोध्दा भने ५/५ जना सभापति दुवै समूहका छन् । मनाङ सभापति शंकर गुरुङ, हुम्ला सभापति मोहनविक्रम सिंह, ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङ, रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) र रुकुमपूर्वका सभापति केशरमान रोका संस्थापन निकट हुन् । त्यस्तै संस्थापन इतरबाट मुस्ताङमा रोमी गौचन थकाली, कालिकोटमा अम्मबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने र दोलखामा बर्मा लामाले सभापति जितेका छन् ।
जिल्ला अधिवेशन सम्पन्न भएका जिल्लाबारे प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार बालुवाटारमा आफू पक्षीय नेताहरूसँग छलफल गरेका थिए । त्यो छलफलमा अहिलेसम्म अधिवेशन भएका स्थानमा आफूहरू बहुमतमा रहेका निष्कर्ष निकालिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
तर, संस्थापन इतर समूह भने त्यो मान्न तयार छैन । उसले आफूहरू केही मात्रामा भए पनि बहुमतमा रहेको बताउँछ । ‘हामी धेरै फराकिलो अन्तरले त होइन, केही मात्रामा अहिलेसम्म बहुमतमा छौं,’ इतर समूहका एक नेताले भने । तर समूह एक रहने हो कि होइन भन्ने विषयले भने समूहलाई पिरोलेको छ ।
यता १३ औं महाधिवेशनमा तेस्रो धार बनाएको नेता कृष्णप्रसाद सिटौलाको समूहले संस्थापनलाई सहयोग गर्ने छाट अहिलेसम्मका अधिवेशनले देखाएको छ । काठमाडौंमा भएका पालिका अधिवेशनमा पनि सिटौला समूह संस्थापनतर्फ ढल्केको देखिएको छ । संस्थापनमा पनि उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले सभापति लड्ने बताएकाले कतातिर पल्ला भारी हो भन्ने यसै भन्न सक्ने अवस्था भने छैन ।
केन्द्रीय महाधिवेशनको मिति फेरि धकेलिने
अहिलेको अधिवेशनको चाला हेर्दा केन्द्रीय महाधिवेशन फेरि धकेलिने सम्भावना बढको छ । निर्वाचन समितिका एक सदस्य भन्छन्, ‘अहिलेसम्म तीन जिल्लाको क्रियाशील सदस्यताको फाइल आएको छैन ।
सदस्यताको फाइल आएका स्थानमा पनि धेरै नै विवाद देखिएको छ । यो पार्टीले नटुंग्याए त कसरी निर्धारित मितिमा अधिवेशन होला र ।’ स्रोतका अनुसार सभापति देउवा पनि महाधिवेशन मंसिर मसान्तसम्म सार्न चाहन्छन् । अहिले कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेको छ ।

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया