कांग्रेस नेतृत्वमा सुकिला–मुकिला हाबी !

काठमाडौँ – कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खट्किएको छ । पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ताहरू ओझेलमा छन् । राजनीतिकर्मीभन्दा बढी ठेक्का–पट्टा, व्यवसायिक पृष्ठभूमिका मानिसहरू नेतृत्वमाथि हाबी हुँदै गएको आम कांग्रेसीको बुझाइ छ ।
वीपी कोइरालाका वाक्य थियो, ‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हाबी हुनेछ, इमान्दार कार्यकर्ताहरू पनि छन्, तर भोलि त्यही पुराना इमान्दार समर्पित कार्यकर्ताहरूले तिनकाविरुद्धमा विद्रोह गर्नुपर्छ, अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ ।’
कांग्रेसका संस्थापक वीपीका शब्द आज कताकता मेल खाइरहेको त छैन ? वीपीको दूरदर्शिताबारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थ मेल खाँदै गइरहेको ठान्छन् । कायस्थ भन्छन्, ‘अब सुकिला–मुकिलाले कांग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरू पछि पर्नेछन् ।
कांग्रेसका पूर्व सांसद लेखनाथ न्यौपाने पनि पार्टीको यतिखेर अवस्था त्यो वीपीको वचनभन्दा फरक देख्दैनन् । कांग्रेसका नेतृत्व तहका नेताहरूले नै आफ्नो नैतिकता बेचिरहेको न्यौपानेको बुझाइ छ । भन्छ्न्, ‘कांग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भएपनि इमान्दारितापूर्वक काम गरेका छैनन् । नेतामा तैँले भन्दा धेरै पैसा मैले खर्च गर्नसक्छु भन्ने घमण्ड पालिरहेका छन् ।
वीपीका शब्द सम्झदै पूर्व सांसद न्यौपाने भन्छन् ‘पार्टीका हरेक निकायमा सुकिला मुकिला नै हाबी त छन् नि । अपवादलाई छाड्ने हो भने इमान्दार कार्यकर्ताले कही कतै स्थान पाएका छैनन् । पैसावालहरू हाबी हुँदै गएकाले पार्टीमा नैतिकताको राजनीति कमजोर हँुदै गएको छ । यो प्रवृति रोक्न सकिएन भने कांग्रेस संकटमा पर्नेछ ।’
यतिबेला कांग्रेस दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ । स्वार्थी समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आमकार्यकर्ताहरूले सुकिला मुकिलाबाट अपमानित भएको अनुभूत गर्न पुगेका छन् ।
कांग्रेस माफियाहरूको कब्जा पुग्ने खतरा देखाउँदै राजनीतिक विश्लेषक डा. विनोद भट्टराई भन्छन्, ‘वीपीले सुकिला मुकिला भनेको 'भेष्टेड इन्ट्रेष्ट' विकास हुँदै जान्छन् । तिनीहरूले पार्टीका तलदेखि माथिका निकाय कब्जा गर्दै जान्छन् । जुन मैले तपाईलाई भने मठाधीस, माफिया, दुई नम्बरीहरूले पार्टीको संयन्त्रमा कब्जा गर्छन् । नेताहरूलाई नियन्त्रण गर्छन् । खरिद गर्छन् ।’
तिनै तत्वले आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाई उपयोग खतरा भएको उल्लेख गर्दै भन्छन्, ‘त्यसलाई रोक्न इमान्दार कार्यकर्ताहरू सचेत हुनुपर्छ भनेर बिपीले भन्नुभएको हो । हाम्रो पार्टीमा कहीँ कतै त्यस्तो प्रवृत्तिलाई रोक्न सकिएको छैन ।’
अब त इमान्दारहरू चुनाव लड्न पनि नसक्ने स्थितिमा पुगेका छन् । भट्टराई भन्छन्, ‘जसले दुःख गरे, जेल नेल खाए, पार्टीलाई यो अवस्थामा ल्याउन अत्यन्त दुःख गरे उनीहरू कमजोर छन् । चुनाव लड्नु पर्यो भने भएको घर खेत बेच्नु पर्ने अवस्थामा छन् । तिनैले जित्छन् जो माफिया छन्, ठेकदार छन् । यो प्रवृत्ति रोकिएन भने दुर्भाग्यपपूर्ण अवस्था आउन सक्ने म देख्दै छु ।’
वीपीका शब्द झैँ यो महाधिवेशनले पार्टी सुकिला–मुकिलाको प्रभावबाट मुक्त हुन सक्छ कि सक्दैन भन्ने हेर्न भने महाधिवेशनको परिणामसम्म कुर्नैपर्ने हुन्छ । सुकिला–मुकिलाविरुद्ध विद्रोह गर्छन् या फन्दामा पर्छन्, चुनावका बेला देखिने नै छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया