मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

गन्धर्वलाई बसोबासको व्यवस्था

फाइल तस्वीर

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका भित्रका गन्धर्व समाजका मानिसहरूलाई बस्ने घरको व्यवस्था गरिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गररहेका छन् । पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्धर्व समुदायलाई हस्तान्तरणसमेत भइसकेको छ ।

नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्धर्व बस्तीलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ । तराई सम्बृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाइ गन्धर्वहरूलाई उपलब्ध गराएको छ । दोस्रो चरण अन्तर्गत ९० लाख ५८ हजार ८ सय २८ रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

सरकारले गन्दर्भ समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिदा समस्या भएको गन्धर्वहरू बताउँछन् । पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको स्याफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या भएको गुनासो उनीहरूको छ । तर पनि घर नै नभएकाहरूका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरू खुसी देखिन्छन् ।

समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा उनीहरू छन् । अहिले गन्धर्व समाजलाई घरको खाँचो छ । त्यसैले स्थानीय सरकारले घर बनाइदिएको छ । गन्धर्वहरू भने सरकारले घर बनाइदिएर मात्रै नपुग्ने बताउँछन् । आफूहरूलाई घरको लालपुर्जा समेत उपलब्ध गराइदै सहज हुने उनीहरूको भनाइ छ ।

बसोबासको समस्यामा रहेका स्थानीय गन्धर्वहरूले घर पाएपछि खुसी देखिन्छन् । यस्तै उनीहरूले स्थानीय तहबाट सीपमुलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागि समेत सहज हुने बताउँछन् ।