‘हेडक्वाटर’को दाउपेचमा रन्थनिएको कर्णाली

काठमाडौं : प्रदेशको विवाद बोकेर कर्णालीका नेताहरु केन्द्रमा आए । तर, उनीहरु केन्द्रकै विवाद हेरेर रन्थनिएका छन् । पार्टी हेडक्वाटरको पत्र पाएपछि कर्णालीका नेताहरु असोज २८ र २९ कन्द्र आएका थिए । केन्द्रमा डाकिएका प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध, प्रदेशमन्त्री प्रकाश ज्वाला, यमलाल कँडेल लगायतका नेताहरु दुई दिनसम्म रनभुल्लमा परे । प्रदेशमन्त्री ज्वालालाई केन्द्रमा आफूहरुलाई किन बोलाइएको हो त्यो पनि थाहा छैन । उनले इकाजगसँग भने, ‘उहाँहरु छलफल गर्दै हुनुहुन्छ, हामी पर्खेर बसिरहेका छौँ ।’
प्रदेशका नेताहरुसमूह-समूह बनाएर काठमाडौँ आइपुग्दा अर्कै झमेला सुरु भइसकेको थियो । त्यो झमेला हो-मन्त्रिपरिषद् पुर्नगठनको । २९ गते प्रधानमन्त्री केपी ओलीले आफू निकटका नेताहरुलाई मात्र नयाँ मन्त्री बनाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत असन्तुष्ट बने । जसको असर कर्णालीबाट विवाद मिलाउन काठमाडौं आएका नेताहरुले भोगे । कर्णालीका नेताहरुलाई पार्टीले बोलाएको भए पनि उनीहरुले दुवै अध्यक्षसँग एकै पटक दुई दिनसम्म भेट्न पाएनन् । छुट्टाछुटै भने दुवै अध्यक्षसँग भेटिसकेका छन् ।
२९ गते दिउँसो मुख्यमन्त्री शाही खेमाका नेताहरुले खुमलटार पुगेर अध्यक्ष दाहाललाई भेटे । त्यस्तै ३० गते दाहालले कँडेल खेमाका नेताहरुसँग आफ्नै निवासमा भेटे । प्रधानमन्त्री ओलीले भने शनिबार कर्णालीका केही नेताहरुसँग भेट गरे । भेटमा दुवै नेताहरुले केन्द्रले नै विवाद मिलाउने आश्वासन दिइरहेका छन् । दुवै अध्यक्षहरुबीच संवाद टुट्दा कर्णालीबाट आएका नेताहरुले सत्तारुढ नेकपाका अरु नेताहरुलाई भेटिरहे । भलै उनीहरुबाट केही निचोड निस्किनेवाला छैन । निचोड निस्किन दुवै अध्यक्षबीचको सहमति जरुरी थियो । तर, त्यसो भएको छैन ।
अविश्वासदेखि अलमलसम्म
प्रदेश ५ को नामाकरण र राजधानी निर्धारण भएको पाँच दिनपछि कर्णाली प्रदेशमा एउटा खेललाई औपचारिकता दिइयो । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर । ०७७ असोज २५ मा कर्णाली प्रदेश नेकपा संसदीय दलका नेतासमेत रहेका शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए । सत्तारुढ पार्टीकै बहुमत सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरी प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना सांसद थिए । प्रदेशसभामा नेकपाका ३३ सांसद रहेकामा १८ जनाले अविश्वास गरेपछि मुख्यमन्त्री शाही नैतिक संकटमा परे । नैतिक संकटको यो प्रपञ्चको विजारोपण प्रदेशबाटै भएपनि यसलाई उकेरा लगाउने खेल केन्द्रबाटै खेलिएको थियो । उसो त, शाहीको नेतृत्वप्रति एक वर्ष नपुग्दै प्रदेश मन्त्रीहरुकै असन्तुष्टिका आवाज सतहमा आउन थालेका थिए । तर, त्यो असन्तुष्टिले औपचारिकता भने दुई वर्षसम्म पाउन सकेन । प्रदेश सरकारमाथि असन्तुष्ट नेताहरुको नेतृत्व गर्ने व्यक्ति थिए, यामलाल कँडेल ।
तत्कालीन एमाले-माओवादी एक भएपछि कँडेल मुख्यमन्त्रीको दाबेदार मानिन्थे । अध्यक्ष केपी ओलीबाट मुख्यमन्त्रीको आश्वासन पाएपछि उनी केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका थिए । तर, वाम गठबन्धनपछि भएको भागबन्डामा त्यहाँको मुख्यमन्त्री पद पूर्वमाओवादीतिर ढल्कियो । कँडेलसँग असन्तुष्टि मात्र बाँकी रह्यो ।
प्रदेश नेतृत्वप्रति कँडेलसँग असन्तुष्टिको ठूलै पोको थियो । यही पोको बोकेर उनी २०७७ साउनमा काठमाडौं आए । उनले सत्तारुढ नेकपाका शीर्ष नेताहरुलाई भेटेरै प्रदेश सरकारप्रति असन्तुष्टि पोखे । उनका असन्तुष्टिलाई गम्भीर रुपमा लिए सत्तारुढ नेता माधव नेपालले । केन्द्रमा उनको हालत पनि प्रदेशमा कँडेलको जस्तै थियो । यही कारण पनि नेपालले कँडेलको असन्तुष्टिलाई गम्भीरतापूर्वक लिए ।
कँडेलले काठमाडौंमा नेपाललाई मात्र भेटेका थिएनन् । उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र बालुवाटार निकट नेताहरुलाई पनि भेटेका थिए । पूर्वएमाले खेमाका नेताहरुले कँडेलको असन्तुष्टिलाई औपचारिकता दिन उस्काए । जसमा जसमा पूर्वमाओवादी खेमाकै पनि केही नेताहरु थिए । मुख्यमन्त्री शाहीबाट केही पूर्वमाओवादीकै केन्द्रीय नेताहरु असन्तुष्ट थिए । खासगरी बजेट र योजनाका विषयमा । अविश्वास प्रस्तावको सहायतामा शाहीलाई झस्काउने जमर्को केन्द्रबाट भएको थियो । लामै तयारीका साथ यसपट यसअघि पनि अविश्वास प्रस्ताव दर्ताका कोशिश भएका थिए । मुख्यमन्त्रीलाई सुइँकोसमेत नदिएर यो अविश्वासको प्रस्ताव दर्ता गरियो ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थाहा पाएपछि मुख्यमन्त्री शाहीले आफू निकट नेताहरुसँग परामर्श गरे । परामर्शपछि २५ गते राति उनले नेकपा प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरे । मुख्यमन्त्री शाहीले शाहको बर्खास्तीको कारण दिए, ‘सन्तोषजनक कामकाज नभएको ।’ तर, कारण अर्कै थियो । प्रमुख सचेतक शाहले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा भूमिका खेलेको सूचना मुख्यमन्त्री शाहीले आफू निकट नेताहरुबाट पाएका थिए । अर्कोतर्फ प्रमुख सचेतक शाहले भोलिपल्ट संसदीय दलको बैठक बोलाएर अविश्वास प्रस्तावबारे छलफल गराउने तयारी गरेका थिए ।
प्रमुख सचेतक बर्खास्तसँगै उनले दलका सचेतक सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरे । अविश्वासको प्रस्ताव दर्ता भएपछि त्यसले प्रदेशमा मात्र हलचल ल्याएन । केन्द्रीय राजनीति पनि नराम्ररी हल्लियो । किनकि सत्तारुढ नेकपाभित्र अन्तरिक शक्तिसंघर्षको मैझारो भएको धेरै भएको थिएन । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भोलिपल्ट उपप्रधानमन्त्री भइसकेका नेकपाका स्थायी समिति सदस्य भीम रावलले यसलाई अनिष्टको संकेतका रुपमा चित्रण गरे ।
२६ गते सबेरैबाट केन्द्रमा नेताहरुको दौडधुप सुरु भयो । दौडधुपको केन्द्रमा थिए नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल । मुख्यमन्त्री शाही र अध्यक्षको दाहालको सम्बन्ध सशस्त्र द्वन्द्वदेखिकै हो । शाही दाहालको विश्वासिला नेतामध्येका एक हुन् । दाहालले बिहानै नेता नेपाललाई खुमलटारमा रहेको आफ्नो निवासमा बोलाएर यो प्रदेश विवादको विषयमा जिज्ञासा राखे । नेपालले दाहालसामु अविश्वासप्रस्तावलाई ‘कार्यशैलीगत विद्रोह’को संज्ञा दिए ।
छलफलपछि दुवै दाहाल-नेपालले मुख्यमन्त्री शाही सच्चिनुपर्ने र कर्णाली विद्रोह रोकिनुपर्ने निष्कर्ष निकाले । यसका लागि असन्तुष्ट नेताहरुलाई पदमा राखिदिने सहमतिसमेत भयो । दाहालसँगको छलफलमा नेपालसँगै युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागि थिए ।
नेपाल खेमासँगको भेटपछि दाहालले आफू निकट नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन र जनार्दन शर्मासँग परामर्श गरे । अविश्वास प्रस्ताव जसरी पनि फिर्ता गराउन पहन गर्नुपर्ने सुझाव पाएपछि उनी प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटारतिर लागे ।
बालुवाटारमा प्रधानमन्त्री ओलीसँग दाहालले जसरी पनि अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह गरे । तर, दाहलसँगको भेटमा ओलीले प्रदेश विवादमा आफू संलग्न नरहेको, विवादबारे बुझिरहेको बताए । बालुवाटारमा दुवै अध्यक्षले अविश्वासको प्रस्ताव फिर्ता गराएर प्रदेशमा बढेका असन्तुष्टिहरु केन्द्रबाटै हल गर्ने सहमति गरे ।
अर्कोतर्फ दाहालसँग सहमतिपछि नेपाल खेमा विवाद मिलाउन तम्सियो । दाहाल-नेपालबीच बिहानै भएको सहमति प्रदेशसम्म पुर्याउन नेकपाका केन्द्रीय सदस्य निरज आचार्य २६ गते बेलुका सुर्खेत उडे । त्यहाँ उनको काम थियो असन्तुष्ट नेताहरुलाई केन्द्रको सहमतिबारे अवगत गराउने । जहाँ उनले केन्द्रको सहमति अनुसार विवाद सल्टाउनुपर्ने जानकारी दिए ।
यही दिन दिउँसो मुख्यमन्त्री शाही र नेता असन्तुष्ट नेपाल खेमाका नेताहरुबीच सहमति भयो । सहमति अनुसार नेपाल खेमाले भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख पाउने भयो । सहमति लगत्तै मुख्यमन्त्री शाहीले प्रदेश सभादलको सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरे । केन्द्रमा दाहाल र नेपाल खेमाबीच भएको सहमतिले प्रदेशमा काम त गर्यो । तर, केन्द्रमा यतिबेलासम्म ओली खेमाको भूमिका प्रष्ट थिएन ।
प्रधानमन्त्री ओलीकै अगुवाईमा २७ गते बेलुकी पार्टी हेडक्वाटरबाट प्रदेशमा एउटा पत्र गयो । पत्रमा प्रदेश नेतृत्वकर्ता र असन्तुष्ट समूहलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उपस्थित हुन भनिएको थियो । मुख्यमन्त्री शाही, शाहीले प्रमुख सचेतकबाट हटाएका गुलाबजंग शाह, मन्त्री प्रकाश ज्वाला र सांसद चन्द्रबहादुर शाही लगायतलाई हेटक्वाटरले पत्र पठाएको थियो ।
पत्र पठाउनुअघि ओली खेमाले ‘जो जहाँ छ, जुन भूमिकामा छ, त्यहीँ अवस्थामा रहन’ भन्दै प्रदेशमा फोन सम्पर्क गरेको थियो । २७ गते विहान नेकपाका संघीय संसदका उपनेता सुवासचन्द्र नेम्वाङले प्रदेशमा फोन सम्पर्कबाट विवादबारे सोधपुछ गरेका थिए । अविश्वास प्रस्तावका समर्थक प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री नन्दसिंह बुढाको राजीनामा नेम्वाङले रोकेका थिए । राजीनामा दिएर १ बजे बोलाइएको अविश्वास प्रस्तावक समूहको छलफलमा जान तयार रहेका दुवै मन्त्रीलाई नेम्वाङले फोन गरेपनि उनीहरु पछाडि हटेका थिए ।
एक हदसम्म प्रदेशको विवाद मिलिसकेको थियो यतिबेलासम्म । तर, नेकपा हेटक्वाटरले अर्को हस्तक्षेप त्यहाँ आफ्नो भूमिका खोज्यो । जसका कारण यो विवादलाई जबरजस्ती केन्द्रमा ल्याइयो । अविश्वासको प्रस्ताव दर्ता भएको भोलिपल्ट अर्थात् २६ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुनुलाई ‘राजनीतिक अराजकता’को संज्ञा दिए । प्रदेशको विवादलाई केन्द्रमा तानेपछि के प्रष्ट हुँदै भयो भने प्रधानमन्त्री ओलीले यो विवादमा आफ्नो भूमिका खोजेका हुन् । आफ्नो भूमिकाबिनै दाहाल-नेपालको सहमतिमा प्रदेश विवादको मैझारो भएपछि प्रदेश विवादलाई उनले हस्तक्षेप गरे ।

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया