बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

नम्बर प्लेट नराखेका २१९ मोटरसाइकल नियन्त्रणमा

काठमाडौँ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २ सय १९ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले नम्बर प्लेट नलेखिएका १ सय ६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकल पक्राउ गरेको हो ।

ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याइएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरू चेकजाँच गर्ने क्रममा पक्राउ परेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

‘नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट भएका मोटरसाइकलले दुर्घटनामा गर्दा नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ,’ उनले भने, ‘कतिपय त्यस्ता मोटरसाइकलहरू तिब्र गति र लापरबाहीका साथ चलाउने र ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाइन्छ ।’ सम्पुर्ण सवारी धनीलाई सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था सहि हालतमा राख्न उनको अनुरोध छ । 

महाशाखाले तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५ सयदेखि १५ सय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको जनाएको छ ।