सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

बलिप्रथाको विरोधमा जनकपुरधाममा प्रदर्शन

ब्रम्हा कबीर उपासक समाजले बलिप्रथाविरुद्ध मंगलबार गरेको विरोध प्रदर्शन । तस्बिर – सुभाष कर्ण/इकागज

जनकपुरधाम – जनकपुरधाम स्थित ब्रम्हा कबीर उपासक समाजले बलिप्रथाविरुद्ध मंगलबार विरोध प्रदर्शन गरेको छ । दसैं अवधिभर विभिन्न देवी देवताको भाकलको नाममा पशुलाई बली दिने कार्य गलत रहेको भन्दै त्यसलाई रोक्न मांग गर्दै समाजले विरोध प्रदर्शन गरेको हो ।

समाजका संयोजक शिवकुमार महतोको अगुवाइमा जनकपुरको जनक चोकबाट निस्केको सो विरोध जुलुस नगरको विभिन्न भागमा शक्तिपीठहरूको परिक्रमा गर्दै पुनः जनक चोकमा आई कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

संयोजक महतोले बलिप्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति दबाबस्वरूप ¥याली निकालेको बताए । ‘आफ्नो व्यक्तिगत स्वार्थका लागि कथित भावनाले कुनै पनि जीवको हत्या गर्नु गलत हो,’ उनले भने, ‘बलिप्रथाको नाममा पशुको हत्या गर्नु अपराध हो, यसलाई तत्काल रोक्नुपर्छ ।’ ब्रम्हा कविर उपासक समाज धनुषाका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलिप्रथा बन्द गर्न ज्ञापन पत्रसमेत बुझाएका छन् ।