मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

वरिष्ठ उपाध्यक्षको व्यवस्था, उपमहासचिव एक जनामात्र रहने, सचिवको संख्या दुई थपियो

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म चलेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । विधान महाधिवेशनले एमालेको केन्द्रीय पदाधिकारीमा अध्यक्षपछि पाँच जना उपाध्यक्ष रहने व्यवस्था संशोधन गरी पाँचमध्ये एक वरिष्ठ उपाध्यक्ष र बाँकी चारजना उपाध्यक्ष रहने भएका छन् । 

त्यस्तै, केन्द्रीय पदाधिकारीमा उपमहासचिव दुई जना रहने व्यवस्था रहेकोमा त्यसलाई घटाएर एउटामात्र बनाइएको छ । यद्यपि सचिवको संख्या भने पाँचबाट दुई जना थपेर सातजना पु¥याइएको छ । यसअघि पाँच जना सचिव रहने व्यवस्था थियो । 

विधान महाधिवेशनले एमालेमा एउटै व्यक्तिलाई एउटै पदमा दुई कार्यकालभन्दा बढीपटक उम्मेदवार हुन नपाउने व्यवस्था गरिने भएको छ । त्यस्तै ७० वर्षसम्म कुनै पनि पदमा उम्मेवार बन्न पाइने तर कार्यकालको बीचमै ७० पूरा भएपनि कार्यकाल पूरा गर्न पाइने भएको छ । 

एमालेको विधान महाधिवेशनले दिएको म्याण्डेट अनुसार विधानमा व्यवस्था गरी निर्वाचन आयोगमा बुझाइने भएको छ । त्यस्तै, विधान महाधिवेशनमा प्रवासबाट पाँच प्रतिशत सहभागिता सुनिश्चित गरेको छ । आगामी मंसीरमा हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग गठन भएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । निर्वाचन आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य रहेका छन् । 

विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को नयाँ लोगो र नेकपा (एमाले) एप्सको उद्घाटन गरेका थिए ।

विधान महाधिवेशनले निम्न १६ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।