चिसो भुइँमै रात कटाउँछन् बिरामी कुरुवा

काठमाडौँ - सिन्धुपाल्चोकबाट नातीको उपचार गराउन गंगालाल हृदयरोग अस्पताल बाँसबारी आएका प्रेमबहादुर तामाङ अस्पताल परिसरमा सुतेका छन् । अस्पतालले उनलाई गेट छेउमा रहेको टहारामा सुत्न भने पनि अध्यारोका कारण सुत्न नसकेको उनले बताए। 'कुरूवाका लागि अस्पतालमा कोठा छैन,' तामाङले भने, 'बच्चासँग आमा बस्छिन् । मैले औषधि लगिरहनु पर्ने भएकाले बाहिर बसिरहेका छु । अस्पतालमा कोठा पाए त बस्थे नि ।' उनको नातीलाई मुटुको भल्भमा खराबी देखिएपछि तीनदेखि परिसरमै सुतिरहेका छन्।
उनी जस्तै उपचार गर्न आएका अन्य बिरामीका आफन्त पनि पेटीमै सुत्न बाध्य छन् । सिराहाका दिनेश यादव ६५ वर्षीय बाबाको उपचारमा आएका छन् । होटलमा बस्न पर्याप्त खर्च नभएकाले पेटीमा सुतिरहेको उनले बताए ।
'कुरूवाका लागि अस्पतालले उपलब्ध गराउने बेडको बारेमा जानकारी छ,' उनी भन्छन्,' खर्च अभावले पैसा तिरेर बस्न नसकेको हो ।' उनी मुटुको शल्यक्रिया गर्नुपर्ने भएकाले उपचार गर्न आएका हुन् । बाबाको उपचारमा तीन लाख रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।
गंगालाल हृदयरोग अस्पताल बाँसबारीमा पछिल्लो समय उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ । देशभर कोभिड-१९ संक्रमितको संख्या घट्न थालेपछि अस्पतालमा मुटुको उपचार गराउन आउनेको संख्या बढ्न थालेको हो ।
दैनिक पाँच सयको हाराहारीमा ओपीडीमा बिरामीहरू उपचार गर्न आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले दिएको जानकारीअनुसार बालबालिकादेखि ज्येष्ठ नागरिक सबै उमेर समूहका बिरामी आउने गरेका छन् । अस्पतालमा बिरामीको संख्या बढेसँगै आफन्तहरू आउने हुँदा बिरामीका कुरुवा राख्न समस्या हुने गरेको छ । सुत्ने/बस्ने ठाउँ अभाव छ ।
बिरामीका आफन्तहरू बाहिर सुत्छन् । बिरामीको संख्याभन्दा आफन्त बढी आउने गरेकोले कुरूवा व्यवस्थापन गर्न नसकिएको अस्पताल बताउँछ । अस्पताललले उपलब्ध गराएको कोठामा पैसा लाग्ने भएकाले बिरामीका आफन्त बस्न नमानेको अस्पताल प्रशासनको भनाइ छ ।
अस्पताल परिसरमै दैनिक ५० जनाको हाराहारीमा मानिस सुतिरहेका हुन्छन् । आफन्तलाई अस्पतालले उपलब्ध गराएको बेडमा नसुतेर उनीहरू बाहिर बस्ने र सुत्ने गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । बिरामीसँगै आएका सबै आफन्तलाई अस्पतालमा राख्न नसक्ने उनको भनाइ छ। 'पैसा तिरेर अस्पतालले उपलब्ध गराएको बेडमा बस्दैनन्,' उनले भने,' बिरामीलाई बेड बनाउन छाडेर कुरुवालाई बस्ने ठाउँ बनाउन कुरो भएन । त्यो सकिँदैन ।'
अस्पतालले कुरुवाका लागि सय बेड बनाइसकेको छ । भौतिक पूर्वाधार निर्माण थप ५० देखि ६० वटा बेड सञ्चालन गर्ने तयारीमा छ । सहयोगी संस्थाले उक्त भवन निर्माण गरिदिन लागेको हो । तिहारपछि उक्त भवन बनिसक्ने उनले जानकारी दिए ।
उपचार गर्न अस्पतालमा २ सय ३९ बेड उपलब्ध छन् । थप २ सय बेड योजना रहेको डा. अधिकारीले जानकारी दिए । 'प्रारम्भिक चरणमा डिजाइन तयार भइसकेको छ,' उनले भने,' हाम्रो प्राथमिकतामा बिरामी छन् । बिरामीका कुरुवा खासै पर्दैनन् ।'

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया