सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

एमालेमा वरिष्ठसहित सात उपाध्यक्ष राख्‍न र ७० वर्षे उमेर हद हटाउन सुझाव

काठमाडौँ – नेकपा एमालेका सदस्यहरूले वरिष्ठसहित सात उपाध्यक्ष राख्न र ७० वर्षे उमेर हद हटाउन सुझाव दिएका छन् । ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी एमालेको प्रथम विधान महाधिवेशनमा समूहगत छलफलका लागि गठन गरिएका १० वटा समूहमध्ये पाँच वटा समूहले शनिबार निष्कर्ष पेश गर्दै यस्तो सुझाव दिएका हुन् । 

विधान महाधिवेशन उद्घाटन गर्दै शुक्रबार अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भएको हो ।

समूहगत छलफल सकिएपछि शनिबार पाँच वटा समूहले आ–आफ्नो सुझाव पेश गरेका हुन् ।   उनीहरूले पार्टीमा एक वरिष्ठसहित सात जना उपाध्यक्ष र दुई जना उपमहासचिव राख्नुपर्ने र सातै जना सचिव राख्नुपर्ने उनीहरूको सुझाव छ।

शुक्रबार महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक र सचिव ६ जना राख्ने उल्लेख थियो । जसमा वरिष्ठ नेता र उपमहासचिव हटाउने प्रस्ताव गरिएको थयो ।

यस्तै विधानमा प्रस्ताव गरिएको ७० वर्षे उमेर हद पनि हटाउनु पर्ने उनीहरूको निष्कर्ष छ।  उमेर हद कायम रहँदा एमालेमा कर्मचारीतन्त्र हाबी हुने उनीहरूको तर्क छ । 

हाल अध्यक्ष ओलीको उमेर ६९ वर्ष रहेको छ। उनी १० फागुनमा ७० वर्ष पुग्दैछन् । यदी उमेर हद हटाएको खण्डमा उनलाई पार्टीमा निरन्तरताका लागि बाटो खुला हुनेछ । यसैगरी पार्टीबाट बाहिरिएकाहरूलाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने पनि सुझाव पेश गरिएको छ ।

यस्तै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारण स्पष्ट हुनुपर्ने पनि सुझाव दिएका छन् । एमसीसीबारे पार्टीको धारणा स्पष्ट नुहँदा कार्यकर्तामा अन्योल रहेको र जनता माझ पनि के भन्ने अन्योल रहेको उनीहरूको निष्कर्ष छ ।