सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

आर्थिक मुद्दामा दलहरूबीच साझा सहमति चाहिन्छः डा. महत

काठमाडौँ– अर्थमन्त्री डा. रामशरण महतले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा दलहरूबीच साझा सहमति आवश्यक रहेको बताएका छन् । धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीद्वारा लिखित ‘नेपालको अर्थतन्त्रका आयामहरू’ पुस्तकको विमोचन गर्दै डा. महतले आर्थिक नीतिप्रति सर्वदलीय सहमति भई सुशासनसहित त्यसलाई कार्यान्वयन गरेको खण्डमा  मुलुकले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने बताए । 

‘उच्च आर्थिक वृद्धिलाई दीगो बनाउन र अर्थतन्त्रको स्थायित्वका लागि दलहरूले गम्भीरता देखाउनुपर्छ,’ डा. महतले पुस्तक विमोचन कार्यक्रममा भने । 

कार्कीद्वारा लिखित पुस्तकमा मुलुकको अर्थतन्त्रको वास्तविक, सार्वजनिक, वित्तीय र वाह्य सबै क्षेत्रको बारेमा सूचनामूलक सामाग्री, व्याख्या, विश्लेषण र सुझावहरु रहेको चर्चा रहेको भन्दै पूर्व अर्थमन्त्री महतले अर्थतन्त्रका बारेमा चासो राख्ने सबैका लागि पुस्तक उपयोगी हुने उल्लेख गरे । 

सो कार्यक्रममा वरिष्ठ अर्थशास्त्री प्रा.डा.विश्वम्भर प्याकुर्‍यालले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समालोचनात्मक प्रस्तुती दिदैँ नेपालको भूराजनीतिक अवस्थिति, क्षेत्रगत उपलब्धिको विवेचना, आर्थिक र शासकीय नीतिमा ल्याईएका परिवर्तन र तिनका प्रभावको विषयमा धारणा राखेका थिए । 

डा. प्याकुर्‍यालले कोभिड–१९ को महामारीको कारण अहिले हामी सामु व्यक्तिको जीवन रक्षा र घाइते अर्थतन्त्रको उपचार तथा पुनरुत्थान प्रमुख समस्याको रूपमा देखापरेको पनि उल्लेख गरे । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगको पूर्व सदस्य तथा अर्थशास्त्री डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्रबारे जानकारी लिन चाहाने सबैका लागि पुस्तक उपयोगी रहेको बताएका थिए ।  ।