मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

एमालेसँग प्रतिवाद गरेर अघि बढ्न नेता-कार्यकर्तालाई दाहालको निर्देशन

फाइल फाेटाे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरूको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्षसमेत सुनाए । 

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको डेढ वर्ष एमाले गणतन्त्र र संघीयता विरोधि रहेको भन्दै जनतामा जान पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । यति गर्दा जनताले आफ्नो पार्टीलाई निर्वाचन जिताउने अध्यक्ष दाहालको दाबी छ ।अध्यक्ष दाहालले आफ्ना पार्टीका लडाकू कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरिए एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी दिए । 

‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन्,' उनले भने, 'डेढ वर्षभित्र हामी सरकारमा जान्छौ भनेका छन्। देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाल फटाहाहरूले अहिले हामीलाई हेप्न खोजेका छन् । तिनको सातो खाने । पहिलो आयो है माओवादी भनेपछि जाली फटाहा थरर्र हुन्थे । छाती खोलेर भन्नु होलीले ल्याएको हो गणतन्त्र । हामीले बनाएको हो संविधान । यिनीहरू विरोधि हुन भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस, जनतामा जानुस् । को बेईमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौँ । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ । देशको रक्षा गर्नु पर्छ ।’

अध्यक्ष दाहालले देश, संविधान र गणतन्त्र बचाउनका लागि पनि एमालेविरुद्ध सशक्त ढंगले अघि बढनुपर्ने तर्क गरे । उनले केपी ओली एक्लै केही नभएको पनि बताए । अध्यक्ष दाहालले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्‍याए । उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफू खुसी भएको प्रतिक्रिया समेत दिए । 

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहोर्‍याए । तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरूले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाइ थियो ।