मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

प्रतिशोधका आधारमा अख्तियारले मुख्यमन्त्रीको कार्यालयमा छापा मार्‍यो : जसपा

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले राजनीतिक प्रतिशोधका आधारमा प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको तर्क गरेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो लोकप्रिय कार्यक्रमलाई बदनाम गराउन अख्तियारले छापामार शैलीमा मुख्यमन्त्रीको कार्यालयमा आयोगले छापा मारेको जसपाको भनाइ छ ।

आयोगको यो कदमलाई जसपाले प्रदेश २ सरकार प्रमुखको शक्ति तथा गरिमामा नै आघात पु¥याउने आपत्तिजनक र दूराशयपूर्ण कदम भएको बताएको छ । ‘अख्तियारले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्न पाउने अधिकारी भए पनि अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवम् राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गरिएको उक्त कार्य गलत हो । यस्ता कार्यले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई धरापमा पार्ने, प्रदेश सरकारहरुमा नैराश्यता र हीनताबोध हुने, राष्ट्र निर्माणका लागि गरिने लोककल्याणकारी कार्यहरू प्रतिकूल असर पर्ने हुँदा अख्तियारको यस्ता कार्य र कार्यशैलीप्रति जसपा घोर विरोध, भत्र्सना र आपत्ति प्रकट गर्दछ,’ जसपाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसपा सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्धमा रहेको भन्दै राज्यको सम्पूर्ण तह र निकायहरूमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गरिनुपर्ने विज्ञप्तिमार्फत जसपाले जनाएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत छात्राहरूलाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा १३ असोजमा मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापामारी आयोगले आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।