सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

प्रसारण अनुमतिबिनै व्यवसाय सञ्चालन गरेकोमा महासंघद्वारा आपत्ति

काठमाडौँ – नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले विभिन्न सेवा प्रदायकले प्रसारण अनुमतिबिनै व्यवसाय सञ्चालन गरेकोमा आपत्ति जनाएको छ । इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ, आइपीटीभी र भीओडीलगायतले प्रसारण अनुमति नलिई व्यवसाय चलाएकोमा महासंघले आपत्ति जनाएको हो ।

बिहीबार केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलाले काठमाडौं घोषणा पत्र २०७८ जारी गर्दै महासंघले इन्टरनेट ओटीटी एप्स, वेब ब्राउजिङ, आइपीटीभी र भीओडीलगायतले प्रशारणको अनुमति नलिई प्रसारण गर्नु गैरकानुनी भएकोसमेत जनाएको छ ।

राष्ट्रिय प्रसारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रशारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न नपाइने महासंघको भनाइ छ । गैरकानूनी प्रसारणले सबै केबल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्था आएको भन्दै गैरकानुनी कार्यहरू अविलम्ब बन्द गराउन सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

घोषणा पत्र जारी गर्दै महासंघका अध्यक्ष ध्रुव शर्माले सरकारले विद्यमान राष्ट्रिय प्रशारण ऐन, २०४९ लगायतका प्रसारणसम्बन्धी सम्पूर्ण कानुनको पालना गर्न लगाएर गैरकानुनी प्रसारण तत्काल बन्द गर्नुपर्ने बताए ।