मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

सम्पदाको अवस्थाबारे अभियन्ताले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ – काठमाडौंका विभिन्न स्थानका सम्पदाबारे सम्पदा बचाउ अभियन्ताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् । बुधबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर सम्पदा बचाउ अभियन्ता र सम्पदाप्रेमीहरूले राष्ट्रपति भण्डारीको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय पुस्तकालय र पुरानो बसपार्कमा निर्माणाधीन भवनको अवस्थाबारेमा उनीहरूले राष्ट्रपतिसमक्ष ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । राष्ट्रपतिले पुस्तकालयको हालको अवस्था र पुरानो बसपार्कमा निर्माणधीन भवनबारे सरकारसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको सम्पदाप्रेमी आलोकसिद्धि तुलाधरले बताए । 

‘काठमाडौंको प्राकृतिक र सांस्कृतिक वातावरण बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्दै यहाँको प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउनको लागि आफू जनप्रतिनिधी हुँदादेखी नै पहल गरिरहेको बताउनु भयो,’ तुलाधरले भने, ‘वरपर अग्ला भवन बनाउँदै जाने हो भने काठमाडौंको मुटुमा रहेको खुला क्षेत्र टुँडिखेल कचौराजस्तो हुने आफूलाई अवगत भएको र आजको भेटले यस विषयमा थप ध्यानाकर्षण गराएको बताउँदै राष्ट्रको निधीको रूपमा रहेको पुस्तकालय र सो पुस्ताकालयमा भएको पुस्तकोको संरक्षण गर्न आफू चिन्तित रहेको र राष्ट्राध्यक्षको हैसियतले कानूनको अधिनमा रही आफूले यस विषयमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।’