लुम्बिनी प्रदेशमै कांग्रेसकी एक्ली सभापति

बुटवल - नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका ९ जिल्लामा ७८ स्थानीय तहमा नेतृत्व चयन भएको छ । जसमा जम्मा एउटा पालिकाले मात्रै महिला नेतृत्व पाएको छ । बाँकी सबै पालिकामा पुरुष नेतृत्वमा पुगेका छन् ।
लुम्बिनी प्रदेशमा पालिकास्तरको अधिवेशनमा पाल्पाको पूर्व खोला गाउँपालिका–३ निवासी ५० वर्षीया बिष्णुकुमारी आचार्यले कांग्रेसको नेतृत्वको अवसर पाएकी हुन् । पालिकको अधिवेशनले सर्वसम्मत् रुपमा उनलाई सभापतिमा निर्वाचित गरेको हो ।
शिक्षक संघबाट संगठित भएकी आचार्यले गतवर्ष पूर्व खोला गाउँ कार्य समितिका सभापति कृष्णप्रसाद आचार्य बाहिर गएपछि कार्यबाहक सभापतिको जिम्मेवारी पाएकी थिइन् । अब भने अधिवेशनबाटै उनले सभापतिको जिम्मेवारी पाएकी हुन् ।
तीन छोरी र एक छोराकी आमा आचार्यले घरको जिम्मेवारीभन्दा बढी पार्टीको जिम्मेवारी लिने र पूर्व खोलामा कमजोर अवस्थामा रहेको कांग्रेस संगठनलाई मजबुत बनाउने लक्ष्य बनाएकी छन् । उनले भनिन्, ‘महिलालाई नेतृत्व दिन अझै पनि हिचकिचावट देखिन्छ । मैले सशक्त ढंगले काम गरेर देखाउने छु । आगामी दिनमा अरु महिला साथीहरूले पनि सजिलै नेतृत्व पाउने छन् ।’
ट्रेड युनियन कांग्रेस पूर्वखोलाका उपसभापति समेत रहेकी आचार्य अब पार्टी सभापतिको जिम्मेवारी लिँदै पुरुषले भन्दा पनि सशक्त ढंगले पूरा गर्दै उदाहरणीय बन्ने बताउँछिन् ।
लुम्बिनीमा संस्थापन पक्ष कमजोर देखियो
गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । प्रदेशका पालिका अधिवेशन हेर्दा त्यस्तो देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा बढी संख्यामा निर्वाचित भएका छन् । १२ जिल्लामध्ये देउवा समूहले रुपन्देहीका पालिका सभापतिमा झण्डै दुई तिहाईले अग्रता हासिल गरेको छ ।
७७ पालिकाको अधिवेशनमा पौडेल पक्षबाट ४७ जना सभापति निर्वाचित भएको उक्त समूहका नेताहरूको दावी छ । संस्थापन समूहबाट १९ जना सभापति निर्वाचित भएका छन् भने शशांक कोइराला समूहका नवलपरासी पश्चिममा–२ जना निर्वाचित भएका छन् ।
त्यसमा रुपन्देहीका २, प्युठान र अर्घाखाँचीका एक–एक जना सभापति कुनै समूहमा पनि खुलेका छैनन् । बर्दियामा भने केन्द्रको गुट भत्किएर फरक गुट पनि देखिएको छ । त्यहाँ पौडेल समूहका संघीय सांसद एवं पार्टी जिल्ला सभापति सञ्जय गौतम र विजय गच्छदार निकट मंगलप्रसाद थारुका संयुक्त उम्मेदवार पाँचवटा पालिकाको सभापतिमा निर्वाचित भए ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा, पार्टीका पूर्व जिल्ला सचिव तेजबहादुर भाट र नेता परशुराम थारुको समूहलाई पछि पार्न नेता गौतमले फरक समूहसँग गठवन्धन गरेको शर्मा समूहको आरोप छ ।
तीन जिल्लामा अधिवशेन हुँदै
प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु, गुल्मी र बाँकेका ३२ पालिकामा अधिवेशन हुन बाँकी छ । त्यसमध्ये बाँकेको वडा अधिवेशन पनि भएको छैन भने गुल्मीमा वडा अधिवेशन सकिएको छ । कपिलवस्तुमा बुधबार अधिवेशन भइरहेको छ । कपिलवस्तुमा १० वटा पालिका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया